

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको तयारी र कार्यशैलीलाई लिएर पाँचवटा प्रश्नसहितको जिज्ञासा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाह आजदेखि छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा जान लागेको सन्दर्भमा रिजालले भ्रमणको सफलताको शुभकामना दिँदै भ्रमणपूर्व अपनाइएको प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् । उनले भ्रमणअघि राष्ट्रपति र संसदमा रहेका राजनीतिक दलहरुसँग कुनै छलफल तथा परामर्श नगर्नु कूटनीतिक निरन्तरताका दृष्टिले उचित नभएको टिप्पणी गरेका छन् ।
त्यस्तै, भारतमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरुका संस्थाका प्रतिनिधिसँग नेपाली दूतावासमा भेटघाट तथा अन्तरक्रिया नगर्नुको कारण पनि उनले खोजेका छन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा निजी क्षेत्रका अगुवाहरू ठूलो संख्यामा सहभागी भए पनि भारतीय उद्योगी–व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम नराखिएको विषयमा समेत रिजालले प्रश्न गरेका छन् ।
उनले देशभित्र सामान्य छलफलसमेत नगरेका प्रधानमन्त्रीले दीर्घकालीन महत्त्वका सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्न नैतिक तथा राजनीतिक सामर्थ्य राख्छन् कि राख्दैनन् भन्ने प्रश्नसमेत गरे । रिजालले प्रधानमन्त्रीको भ्रमणका क्रममा आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्नु व्यक्तिगत समस्या हो वा नेपाल सरकारकै नीति हो भन्दै प्रश्न गरे ।
उनले भ्रमणबाट के–कस्ता उपलब्धि हासिल हुन्छन् भन्ने कुरा पछि नै थाहा हुने भए पनि भ्रमणको सुरुवातमै प्रधानमन्त्रीको कार्यशैलीले जिज्ञासा उत्पन्न गराएको बताएका छन् ।
यस्तो छ उनको जिज्ञासा :

प्रधानमन्त्री बालेन्द्र शाह आजदेखि छिमेकी राष्ट्र भारतको दुई दिने राजकीय भ्रमण (स्टेट भिजिट) मा जाँदै हुनुहुन्छ । सर्वप्रथम उहाँ भ्रमणको शुभकामना व्यक्त गर्दछु । भ्रमणबाट के–के उपलब्धि हासिल हुन्छ, थाहा भइहाल्नेछ। तर, सुरुमै प्रधानमन्त्री शाहका व्यवहारका कारण केही जिज्ञासा उत्पन्न भएका छन् :
१. भ्रमणपूर्व राष्ट्रपतिदेखि संसद्मा रहेका दलहरूसँग कसैसँग पनि कुनै छलफल र परामर्श भएन । कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिले ठूलो महत्व राख्दछ । देशभित्र संसद्मा रहेका दलहरूसँग समेत कुनै परामर्श नगरी भारतसँग एकल र छुट्टै के गर्न लाग्नुभएको हो ?
२. भारतमा लाखौँ नेपाली नागरिकहरू छन्, तिनका धेरै संस्थाहरू क्रियाशील छन् । नेपालका प्रधानमन्त्री भारत पुग्दा नेपाली दूताबासमा उनीहरुसँग प्रतिनिधिमुलक भेट गर्ने र आश्वस्त पार्ने काम गर्दा प्रधानमन्त्रीलाई के आपत आइलाग्दोरहेछ ?
३. नेपालमा भारतीय लगानी भित्र्याउनका लागि अन्तरक्रिया र प्रोत्साहन गर्ने भन्दै प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा ठूलो संख्यामा निजी क्षेत्रका अगुवाहरु पनि छन्। तर, भारतीय उद्योगी–व्यवसायीलाई सम्बोधन गर्न प्रधानमन्त्री तयार हुनुभएनछ । यसो गर्दा उहाँलाई के घाटा हुँदोरहेछ ?
४. देशभित्र सामान्य छलफल पनि नगरेका प्रधानमन्त्रीसँग कुनै पनि दीर्घकालीन सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्ने नैतिक तथा राजनीतिक सामाथ्र्य हुँदैन । त्यसबाट भोलिका दिनमा थप विवाद सिर्जना हुन सक्छ । यसतर्फ बेलैमा सबैले ध्यान दिनुपर्छ ।
५. आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्ने, दोहोरो सम्वाद गर्न नसक्ने प्रधानमन्त्रीज्यूको कुनै व्यक्तिगत समस्या हो कि नेपाल सरकारको नीति नै हो ?










