२०८३ मंसिर ६ , शनिबार
Sky News Nepal
November 21, 2026

जिल्ला प्रशासन कार्यालय जुम्लाद्वारा ५६ हजार नागरिकता वितरण



मंसिर १, जुम्ला ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले ५६ हजार नागरिकता वितरण गरेको छ । विसं २०३५ साल यतादेखि प्रशासनले ५६ हजार नागरिकहरुलाई नागरिकता वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायव सुब्बा सुरत गिरीले अहिलेसम्म जुम्लामा ५६ हजार ३४५ जना नागरिकले नागरिकता प्राप्त गरेको बताए ।

‘चालू आवको असार यता मात्रै एक हजार २५७ जनालाई नागरिकता प्रदान गरिएको छ’, नायव सुब्बा गिरीले भने, ‘जसमा ९६७ जनाले नयाँ नागरिकता, १९० ले बाल नागरिकता, ३२ ओटा संशोधित नागरिकता र ७१ ओटा प्रतिलिपी रहेका छन् ।’ ३२ ओटा नागरिकता भने विसं २०५९ साल कात्तिक २८ गते जुम्ला तत्कालिन सशस्त्र विद्रोही पार्टी माओवादीको आक्रमणमा परेर प्रशासन जलेपछि रेकर्ड नभएका नागरिकता रहेको उनले बताए ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले दुई वर्षयता आफ्नो सेवा र कार्यालयको व्यवस्थापनमा पनि थप सुधार गर्दै आएको छ । सेवाग्राहीका लागि खस भाषाको नागरिक अडियो बडापत्र, डिजिटल बडापत्र, स्तनपान गृह, हेल्पडेक्स, वेवसाईट नियमित, सामाजिक सञ्जाललगायतबाट सेवाग्रहीलाई सजिलो बनाएको बनाईएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

त्यस्तै सेवाग्रहीलाई सन्तुष्टि फारम भर्ने शुरु गर्न थालिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनका अनुसार अब जिल्ला प्रशासनका वेवसाईटमा राखेका सेवा सिधै बाहिर देखाउन र सुनाउनमा समेत प्रयास गरिएको र यहाँका सबै दस्तावेज डिजिटल रेकर्डमा राख्ने प्रयत्न भइरहेको छ । रासस

प्रकाशित मिति : २०७७ मंसिर १ गते सोमबार
Translate »