पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पहिलो कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ र ८ को टाकुला खोलामा बाढीले सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । बाढीका कारण सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका सवारी साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सोमबार बेलुकादेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । ‘अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘बाढीका कारणले राजमार्ग बगाएकाले अवरुद्ध भएको हो ।’ नगरपालिकाका प्रमुख शाहीले मंगलबार नै राजमार्ग खुलाउने गरी काम भइरहेको बताए ।
ठुलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पुरै भत्काई दिएर सडकको स्वरुप नै बिगारी दिएको छ । सामान्य पानी पर्दा पनि पहिरो खस्ने टाकुला खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधन तथा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडक तत्काल खुलाएर सवारी आवागमनमा सहजता ल्याउनको लागि यात्रुहरुले माग गरेका छन् । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ निवासी संगीता शाहीले गगन र टाकुला खोलामा खस्ने पहिरोको स्थायी रुपमा समाधान नखोजिँदा कर्णालीवासीले यात्रामा संकट बेहोर्नु परेको बताइन् । उनले भनिन, ‘पटक पटक पहिरो गइरहेको छ, तर पहिरोको दीर्घकालीन व्यवस्थापनका विषयमा सम्बन्धित निकायले चासो देखाएको छैन । आगामी दिनमा पहिरोको स्थायी समाधानका सम्बन्धित निकायले पहल गर्नुपर्ने उनले बताइन् ।
पहिरोबाट २४ घर विस्थापित
जिल्लाको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन् । सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन् । पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको काममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारणले ४ घर पूरै क्षति पुगेको अन्य २० घर निकै जाखिममा रहेको छन् । पहिरोमा मानविय क्षति नभएपनि धनमालको ठूलो क्षति भएको छ ।