प्रहरीद्वारा हजारौं मूल्यको अवैध मदिरा नष्ट

सचेतना अभियान बढाउन अभियन्ताको माग

स्काई न्यूज सम्वाददाता/असोज १७ सुर्खेत ।
सुर्खेत प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । सदरमुकाम वीरेन्द्रनगरका विभिन्न स्थानमा बिक्रीका लागि राखेको आठ हजार बढी लिटर अबैध घरेलु मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो । जिल्लामा चाडपर्वका बेला सबैभन्दा बढी घरेलु मदिरा खपत हुने हुँदा प्रहरीले विगतमा पनि ठूलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।

शुक्रबार वीरेन्द्रनगर–७, का वडा अध्यक्ष ध्रुवकुमार चपाई, स्थानीयबासी, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी, सरकरी कर्मचारी तथा पत्रकारको रोहवरमा अबैध मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । उनले चाडपर्व लक्षित शान्ति सुरक्षा अभियान अन्तर्गत शहरका विभिन्न स्थानमा अबैध रुपमा बिक्री बितरणका लागि स्थानीय व्यापारीले राखेकोे हजारौं मूल्य बराबरको मदिरा नष्ट गरिएको बताए ।

‘चाडपर्वका बेला अवैध मदिरा तथा लागु औषधको विक्री वितरणले शान्ति सुरक्षामा खलल पुग्ने भएकाले नियन्त्रण गर्न अभियान नै सञ्चालन गरेका छौं,’ उनले भने, ‘हामी मदिरा बन्द गर्ने अभियान चलाई रहेका छौं, व्यापारीहरु लुकीछिपी अबैध मानिएको मदिरा बिक्री गर्न थालेपछि नष्ट गर्नै पर्ने अवस्था आयो ।’ उनले मदिरा बिरुद्ध चेतनामुलक कार्यक्रमसँगै सगन अभियान सञ्चालन गरिरहेको भएपनि स्थानीयले व्यापारीले त्यसको वास्तानै नगरी अबैध मदिरा बिक्री बितरण गर्न थालेकाले कार्वाही तथा चेतावनी स्वरुप मदिरा तथा मदिरा उत्पादन गर्ने सामाग्री बरामदगरी नष्ट गरिएको जनाए । उनका अनुसार प्रहरीले जिल्लामा बिक्री बितरण हुने अबैध मदिरा नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गर्ने काम गरिएको छ । 

सादा पोसाकमा खटिएका प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीले अबैध मदिरा उत्पादन गर्ने भट्टि तथा पसलमा छापा मार्ने र मदिरा बरामद गर्ने गरिरहेको छ । मदिराका कारण सवारी दुर्घटनामा बृद्धि, घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी हुने र जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने गरेकोले उक्त मदिरा नियन्त्रणको अभियानमा प्रहरी खटिएको उनको भनाइ छ । ‘जिल्लामा हुने अधिकांस घटनामा मदिरा प्रमुख कारण बनेकोले हामी मदिरा नियन्त्रण गर्ने अभियानमा छौं,’ उनले भने, ‘मदिरा सेवन तथा बिक्री बितरणमा नियन्त्रण गरेपछि जिल्लामा हुने अपराधिक क्रियाकलापमा केही कमि आउने अपेक्षा राखेका छौं ।’


यता वीरेन्द्रनगर नगरपालिका–७ नम्वर वडा अध्यक्ष चपाईले अधिकांस घटनाहरु अवैध मदिरा तथा लागु औषधका कारण हुने हुँदा महिला हिंसा तथा सवारी दुर्घटनालगायत बृद्धि मुख्य कारक तत्व भएको बताए । उनले प्रहरीसँगै विभिन्न सामाजिक संघ संस्थाहरुले पनि लागु औषध तथा अवैध मदिरा नियन्त्रण अभियानमा सघाउनु पर्नेमा जोड दिए ।

त्यस्तै सामुदाय–प्रहरी साझेदारी कार्यक्रमका अभियन्ता सृजना कार्कीले मदिरा तथा लागु औषध जस्ता असामाजिक क्रियाकलापको चपेटामा सबै भन्दा पहिले महिला नै पर्ने भएकाले प्रहरीको मदिरा नियन्त्रण अभियान फलदायी रहेको बताईन् । उनले अभियानलाई निरन्तरता दिन सवै सरोकारवाला पक्षको समान सहभागिता अपरिहार्य रहेको औल्याईन् ।

Translate »