भ्रष्टाचार सम्बन्धी उजुरीको दर बढ्दो
स्काई न्यूज/ साउन २१,सुर्खेत ।
कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्षेनी बढ्दो क्रममा रहेको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय (अदुअआ) सुर्खेतले बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा संख्यात्मक रूपले घटेको देखिए पनि उजुरी आउने दर भने उच्च रहेको बताएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ७८३ उजुरी परेका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा ६७९ उजुरी परे । गत आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी सुर्खेतका २३८ उजुरी परेका छन् । दैलेख १८६, जाजरकोट १४४, कालीकोट १०२, जुम्ला ८४, सल्यान ८०, रुकुम (पश्चिम) ७८, हुम्ला ६६, मुगु ५३ र डोल्पाबाट ४९ उजुुरी परेका छन् । गत आवमा सङ्घीय सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयसँग सम्बन्धित ३१६ उजुरी परेका छन् । त्यस्तै प्रदेश सरकार मातहतका मन्त्रालयसँग सम्बन्धित २१० तथा स्थानीय तहका ५५४ उजुरी परेका थिए । अदुअआको सक्रियतासँगै नागरिकमा सचेतना वृद्धि भएकाले पनि उजुरी आउने क्रम बढेको कार्यालयको भनाइ छ । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले विकास निर्माणमा नागरिकको चासो र सूचना प्रविधिको पहुँचका कारण पनि उजुरी आउने क्रम बढेको बताए । कार्यालयबाट खटिएको टोलीले गत वर्ष मात्रै सेवाग्राहीसँग घुस लिँदै गर्दा १४ जनालाई थलोमै पक्राउ गर्यो । यस संख्या र बरामद रकम अघिल्लो वर्षको तुलनामा बढी हो । आर्थिक वर्ष २०७५/७६ मा कर्णालीमा ४ जना थलोमै पक्राउ परेका थिए भने रू.४ लाख ४७ हजार घुस बरामद गरिएको थियो ।