३ करोड लगानीमा चिस्यान केन्द्र निर्माण

स्काई न्यूज /साउन २१,सुर्खेत।
कर्णाली प्रदेशमा ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको छ । भेरीगंगा नगरपालिका–१० छीन्चुमा किसानहरूकै नेतृत्वमा चिस्यान केन्द्र निर्माण गरिएको हो । भेरीगंगा नगरपालिका–१० झिलमिलेमा नारी जागरण कृषक समूहले उच्च क्षमताको चिस्यान केन्द्र निर्माण गरेका हुन् । अबको केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी छ । डेढ रोपनी जग्गामा २०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । उक्त चिस्यान केन्द्र सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेका बीउ, तरकारी तथा फलफूल लामो समयसम्म राख्न सकिने र खेर नजाने बताइएको छ । विशेषगरी जुम्लाको स्याउ राख्ने गरी चिस्यान केन्द्र सञ्चालनमा ल्याइने भएको हो । २०७५ मंसिरदेखि चिस्यान केन्द्र निर्माणको काम शुरू गरिएको थियो ।

प्रदेश सरकार अन्तर्गत प्रदेश कृषि विकास निर्देशनालयको करीब रू. ८५ लाख, भेरीगंगा नगरपालिकाको रू. ६७ लाख, गुर्भाकोट नगरपालिकाको रू. ५ लाख, साना तथा मझौला आयस्तर कृषि आयोजनाको रू.३९ लाख र अन्य रकम समूहको आफ्नो लगानीमा निर्माण गरिएको हो । निर्माण समितिका संयोजक ज्ञानु भुुसालका अनुसार ५०/५० मेट्रिक टनका ४ ओटा कोठा निर्माण भएका छन् । एउटा कोठामा तरकारी र फलफूल तथा ३ ओटा कोठामा बीउ राखिने छ । चिस्यान केन्द्र निर्माण भएसँगै किसानहरू उत्साहित भएका छन् । हाल यस क्षेत्रका किसानहरूले बीउ जोगाउन प्रदेश ५ को कोहलपुुरस्थित चिस्यान केन्द्रमा पठाउने गरेका छन् । नवनिर्मित चिस्यान केन्द्रमा फलफूल, तरकारी र बीउहरू पाँचदेखि ६ महीनासम्म राख्न सकिने बताइएको छ । समूहले चिस्यान केन्द्र सञ्चालनका लागि कार्यविधि समेत बनाएको छ । कार्यविधि अनुसार १ जना किसानले फलफूल, तरकारी र बीउ राखेबापत प्रतिकेजी ४ रुपैयाँ ५० पैसा शुल्क तिर्नु पर्ने छ । चिस्यान केन्द्रमा फलफूल तथा तरकारी ग्रेडिङ गरेर राखिने छ । कर्णालीमा सबैभन्दा ठूलो र पहिलो चिस्यान केन्द्र निर्माण भएपछि यहाँका किसानहरूले उत्पादन गरेको उत्पादन कुहिने समस्याको अन्त्य हुने अपेक्षा गरिएकोे छ ।

Translate »