२०८३ असोज २१ , बुधबार
Sky News Nepal
October 7, 2026

एसईईको नतिजा प्राविधिक कारणले केही दिन ढिलो



साउन २२,काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढी पहिरो र कोरोना भाइरस (कोभिड–१९० को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलन समेत गरिएको जनाइएको छ । ‘प्राविधिक कारणले नतिजा प्रकाशन केही दिन लम्बिएको छ,’ हतार गर्नुपर्ने परिस्थिति नरहेको उल्लेख गर्दै बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कान्तिपुरसित भने, ‘सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहोर्‍याएर हेर्ने काम भइरहेको छ । लकडाउनले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन सक्दैनन् । र अहिलेसम्म विद्यालय समेत खुल्ने वातावरण बनिसकेको छैन । त्यसैले नतिजा केही दिन ढिलो प्रकाशन गर्दा कुनै फरक पर्दैन ।’यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ ।

बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको जनाइएको छ । यसपटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहीबार
Translate »