सुर्खेतमा मजदूरको दैनिक ज्याला सय बढ्यो

स्काई न्यूज /साउन २२, सुर्खेत ।
मजदूरको दैनिक ज्यालामा एक सय रुपैयाँ बृद्धि भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको हो । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको छ । समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला एक सय रुपैयाँ बढाएको हो । आर्थिक ऐन अनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको छ । निजी तथा गैरसरकारी संघसंस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा एक सय रुपैयाँ बढेको हो । यसअघि दैनिक आठ सय रुपैयाँ पाउने मजदूरले अबदेखि नौ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् । निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक ६ सय , पलम्बरको ६ सय ८८, सिनियर पलम्बरको ७ सय , इलेक्ट्रिसियन हेल्परको ६ सय, इलेक्ट्रिसियनको ७ सय, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको ६ सय ४० र टेक्निसियनको ७ सय ४५ तोकिएको छ । त्यस्तै, हलुका ड्राइभरको हकमा ६ सय ६०, हेभी ड्राइभरको हकमा ७ सय ३०, हेभि इक्विप्मेन्ट अप्रेटरको ८ सय २०, ड्राइभर सहयोगीको ६ सय, नगर निरीक्षक अर्थात कार्यालय सहयोगी सरहलाई ६ सय, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको ६ सय दैनिक ज्याला निर्धारण गरिएको छ ।

 

मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदूरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐन अनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताए । ‘समितिले निर्धारण गरेको दररेटअनुसारै कारोवार हुनेछ,’ उनले भने, ‘आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारवाही गरिनेछ ।’ मूल्य निर्धारण समितिले विद्युतीयलगायतको केही सामग्रीको मूल्य निर्धारण गर्न भने सकेको छैन । विद्यूतीय पोल ट्रकबाट ढुवानी र विद्युत सम्बन्धी सम्पूर्ण निर्माण सामग्रीको मूल्य बाँकेमा स्वीकृत दररेट तथा ढुवानी अनुसार कायम हुने व्यवस्था गरिएको छ । हालसम्म जिल्लामा स्वीकृत दररेटमा समावेश नभएको जनाउँदै उक्त सामग्रीको हकमा बाँकेमा लागू गरिएको मूल्य सूची सुर्खेतमा लागू गर्नु परेको हो । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ । इँटाको मूल्य भने यसपालि ५ सय रुपैयाँ बढाइएको सुवेदीले जानकारी दिए । यद्यपि मजदुरले बढ्दो महँगीलाई हेर्ने हो भने समितिले बढाएको ज्याला अझै पर्याप्त हुन नसकेको गुनासो गरेका छन् ।

Translate »