रोजगार कार्यक्रमबाट ५ हजारलाई रोजगारी

 

 


 

स्काई न्यूज/ साउन २२,खलंगा ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत जुम्लामा आर्थिक वर्ष २०७६/७७ मा ५ हजार जनाले रोजगारी पाएका छन् । जिल्लाका ८ ओटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक निर्माणका कामसहित जिल्लाका बेरोजगार व्यक्तिले रोजगारी पाएका हुन् । एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात कम्तीमा १०० दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा १५ देखि ३५ दिनसम्मको रोजगारी पाएका छन् ।

स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाभरमा १ हजार ८४० र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ३ हजार १६० जम्मा ५ हजार जनाले रोजगार पाएका छन् । यहाँका ८ ओटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रममा रू. ६४ लाखका दरले बजेट आएको र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले बेरोजगार र कोरोनाले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताए । हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा कोरोना भाइरसका कारणले काम गरेर घर खर्च चलाउन गाह्रो भएकादेखि रोजगारी गुमाएका र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका १ हजार ७८५ बेरोजगार मध्येबाट प्राथमिकता क्रमका आधारमा ३३९ बेरोजगारलाई २० दिनको कामसहित रोजगारी दिएको संयोजक पौडेलले बताए ।

Translate »