नेपालगन्जका मुख्य सडकमा काँडे तार

साउन २५, नेपालगन्ज ।                
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिल गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रका मुख्य सडकमा काँडे तार लगाइएको छ । नेपालगन्जको मुटु मानिने धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग, बसपार्क लगायतका क्षेत्रमा काँडे तार लगाइएको हो । निषेधाज्ञाको अवज्ञा हुने भएकाले सिलपछि नेपाली सेना परिचालन गरिएका छन् । अति आवश्यक बाहेक स्थानीय प्रशासनले हिँडडुलमा पूर्णरुपमा रोक लगाएको छ । बजार पूर्णरुपमा बन्छ । शिक्षण अस्पताल नेपालगन्ज आसपासका औषधि पसल पनि बन्द गरिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सील गरिएका क्षेत्रमा औषधि पसल बन्द भएपछि बिरामीहरुका लागि आवश्यक पर्ने औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाएको जनाए ।बाँकेमा पछिल्लो तीन दिनमा ९७ जना कोरोना संक्रमण देखिएको छ । शनिबार २०, शुक्रबार ४९ र बिहिबार २८ जनामा कोरोना संक्रमण देखिएको हो ।बाँकेमा ७ सय ८७ जना कोरोना संक्रमित भइसकेका छन् । प्रदेश सांसद, वडा अध्यक्ष, व्यवसायी र सरकारी अधिकारीहरुमा समेत कोरोना देखिएको हो । (कान्तिपुर)

 

Translate »