९ वर्षपछि पुल निर्माण सम्पन्न


स्काई न्यूज / साउन २५, खलंगा ।
जुम्ला, डोल्पा र जाजरकोट जिल्ला जोड्ने दानसाँघु पक्की पुल नौ वर्षपछि निर्माण सम्पन्न भएको छ । विसं २०६८ असारदेखि निर्माणकार्य थालनी गरिएको ६० मिटरको सो पुल २०७१ असारमा निर्माण सम्पन्न सम्झौता भए पनि २०७७ असारमा सम्पन्न भएको हो । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाले निर्माण थालनी गरेको पुलको बायाँतिरको पिलरको डिजाइन काम नलाग्ने भएपछि पुनःडिजाइन गरी काम शुरु गर्दा समय अवधि लम्बिएको एसबिए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौंका प्रोपाइटर तारासिंह कठायतले बताए । यद्यपि भू–गर्भ विभागद्वारा माटो परीक्षण गरी काम गर्नुपर्ने भएकाले केही समय लम्बिएको उनले जानकारी दिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, स्थानीय सडक तथा पुल कार्यक्रमबाट सञ्चालित आयोजनाको करीब रू. चार करोड लागतमा भगवती पृथ्वी जेभीले ठेक्का प्रणालीअनुसार रू. दुई करोड ८८ लाख ३० हजार ७७६ दशमलव ६२ पैसामा ठेक्का लिएको थियो । जिल्लाको गोठीचौर गाउँपालिकामा पर्ने देपालगाउँ, गज्याङ्कोट, गोठीचौरसहित डोल्पा र जाजरकोटलाई समेत जोड्ने पक्की पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको छ । बिरामी अस्पताल पुर्याउनेदेखि उत्पादित वस्तु स्याउ अन्नबाली तरकारी फलफूल सदरमुकामको बजार र बाहिर जिल्लाका बजारमा पुर्याउन अब सहज हुने भएको स्थानीयवासी केशव धितालले जानकारी दिए ।