निःशुल्क कोरोना बीमा शुरू

 

स्काई न्यूज / साउन २६,सल्यान ।
सल्यानमा निःशुल्क कोरोना बीमा शुरू गरिएको छ । संघीय सरकार र नेको इन्स्योरेन्स कम्पनीबीच भएको सम्भौता अनुसार राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको निःशुल्क कोरोना बीमा शुरू गरिएको हो । नेको इन्स्योरेन्सको सल्यान शाखाले जिल्ला ट्राफिक कार्यालय सल्यानमा कार्यरत ९ जना ट्राफिक प्रहरीको निःशुल्क कोराना बीमा गरेको बताएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका सुरक्षाकर्मीको निःशुल्क कोराना बीमाले उनीहरूको मनोबल उच्च हुने नेको इन्स्योरेन्स सल्यानका शाखा प्रमुख नारायण दाहालले बताए । जिल्लास्थित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीको कोरोना बीमा निःशुल्क गर्न लागेको उनको भनाइ छ । सरकारले नेको इन्स्योरेन्ससँग गरेको सम्झौताअनुसार हामी जिल्लाका सबै सरकारी कर्मचारी तथा सुरक्षा निकायहरूमा कार्यरतहरूको कोरोना बीमा निःशुल्क गर्न लागेका हौं, यसले उहाँहरूको मनोबल बढ्ने आशा गरेका छौं’, उनले भने । सल्यानमा हाल कम्पनीले ५ हजार भन्दा बढी व्यक्तिहरूको कोरानो बीमा गरिसकेको उनले बताए । हामीले जिल्लाभर हाल ५ हजार ५१ जनाको कोरनो बीमा गरेका छौँ, यसबाट २ जनालाई हामीले कोरोना बीमा दाबी भुक्तानी समेत गरिसकेका छौैं’, शाखा प्रमुख दाहालले भने । शुरू शुरूमा कोरोना बीमाप्रति मानिसहरूको आकर्षण नभए पनि पछिल्लो समयमा भने बीमालेख बनाउनेहरूको संख्या वृद्धि भएको उनको भनाइ छ । अहिले सल्यानका स्थानीय तहहरूले समेत कोरोना बीमालेख बनाइसकेको र अब सुरक्षा निकायहरूमा पनि कोरोना बीमालेख बनाउने तयारी गरिएको दाहालले बताए । सल्यान जिल्लामा अग्रपंक्तिमा रहेर कार्य गरिरहेका ट्राफिक प्रहरीहरूको निःशुल्क बीमा गरिएकोमा ट्राफिक प्रहरीले खुशी व्यक्त गरेका छन् । जिल्लामा हालसम्म २५१ जना कोरोना संक्रमित देखिएका छन् ।

Translate »