सुर्खेतमा सञ्चय कोषको भवन शिलान्यास

स्काई न्यूज/ साउन ३०, सुर्खेत ।
कर्मचारी सञ्चय कोष सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गर्न लागिएको भवनको शिलान्यास गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–७, स्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको ११ कठ्ठा २ घुर जग्गामा शुक्रबार कोषका सुर्खेत प्रमुख अर्जुन निरौलाले भवनको शिलान्यास गरेका हुन् । आगामी १८ महिना भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरिएको कोषले बताएको छ । सनलाईट/वाईएसएस जेवीले ६ करोड ७२ लाख ३४ हजार रुपैयाँमा कोषको भवन निर्माण गर्ने ठेक्का पाएको कोषका सुर्खेत प्रमुख निरौलाले  जनाए । ‘तीन वटा अलग–अलग व्लकमा भवन निर्माण हुनेछ,’ उनले भने, ‘पहिलो दुई तले घर कार्यालय प्रयोजनका लागि, दोस्रो साढे दुई तले कर्मचारी निवासका लागि र तेस्रो सुविधा सम्पन्न गार्ड हाउस निर्माण बन्नेछ ।’

उनले २०५१ साल असार १ गते बाँकेको नेपालगञ्जमा स्थापना गरिएको कोषको शाखा कार्यालय राजा ज्ञानेन्द्रको निर्देशनपछि २०६२ साल पौष महिनामा सुर्खेत स्थानान्तरण गरिएको जनाए । त्यस यता कोषको सुर्खेत कार्यालय भाडाको घरमा बस्दै आईरहेको उनको भनाइ छ । ‘कोषले २०६८ सालमै सुर्खेत उपत्यका नगर विकास समितिसँग १ करोड २२ लाख १० हजारमा ११ कठ्ठा दुई धुर जग्गा खरिद गरिसकेको थियो,’ उनले भने, ‘ईच्छा र चाहना हुँदाहुँदै पनि विभिन्न कारणले ढिलाई भएपनि अब छिट्टै भवन निर्माण हुनेछ ।’ उनले सुर्खेतमा कोषको भवन निर्माण सम्पन्न भएपछि प्रदेशका दश वटै जिल्लामा थप सेवा सुविधा विस्तारमा गर्न सहज हुने बताए । उनका अनुसार कोषले देशभरी छरिएर रहेका ९ वटै शाखाको आफ्नै भवन निर्माण गर्ने योजना अनुसार शुक्रबार एकैसाथ सुर्खेतको वीरेन्द्रनगर र बाँकेको कोहलपुरमा भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

‘देश संघीय संरचनामा गएसँगै कोषले हेटौडा, पोखरा, जनकपुर, बुटवल, धनगढी र धनकुटामा समेत छिट्टै आफ्नै भवन निर्माण गर्ने योजना अघि सारेको छ,’ उनले भने, ‘नयाँ भवनसँगै सञ्चयकर्ताहरुका लागि कोषले आकर्षक नयाँ–नयाँ योजनाहरु समेत ल्याउन लागेको छ ।’ उनले अर्थ मन्त्रालयको यहीं साउन १८ गतेको निर्णय अनुसार २०७६ साल साउन यता नियुक्त भएका कर्मचारीको पेन्सन योजना कोषले व्यवस्थान गर्न लागेको जनाए । उनका अनुसार सरकारबाट यस वर्षदेखि सार्वजनिक संस्थानका कर्मचारीहरुको पेन्सन व्यवस्था गर्ने थप जिम्मेवारी कोषलाई दिइएको छ । सरकारले योगदानमा आधारित पेन्सन योजना व्यवस्थापनको जिम्मेवारी दिएसँगै कोषको सेवा थप सशक्त हुने उनको विश्वास छ ।

Translate »