२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

र्‍यापमा देशको चिन्ता

मायाप्रेमका विषयबाट पृथक् भएका र्‍यापमा देशको चिन्ता हुनु भनेको युवाहरु अहिलेको अवस्थालाई जसरी हेर्छन्, त्यसको प्रतिविम्ब हो


रीना मोक्तान / साउन ३२,काठमाडौँ ।

समय थियो, र्‍याप भन्नेबित्तिकै छाडा गीत भन्ने बुझ्थे अधिकांश नेपाली श्रोता–दर्शक । तर, समयसँगै र्‍यापप्रतिको दृष्टिकोण बदलिएको देखिन्छ । मनोरञ्जन र मायाप्रेमका र्‍याप हुँदै पछिल्लो समय सामाजिक मुद्दामा हिपअप संगीत अगाडि बढेको छ । देशप्रतिको चिन्ता मिसिन थालेको छ । सामाजिक, राजनैतिक बेथितिका विषय समेटिन थालेका छन् ।दुई साताअघि ‘मिस्टर डी’ का नामले चर्चित र्‍यापर सन्दिप विष्टले समसामयिक विषयमा गीत ल्याए, ‘कल्ले भन्यो तँलाई’ । सामाजिक मुद्दामा र्‍याप गाउँदै आएका उनले यस गीतमा पनि सामाजिक राजनैतिक विषयलाई छोएका छन् । निर्मला हत्या, भ्रष्टाचार, सीमा अतिक्रमण र विकासको नाममा हुने अयिमतिताको धन्धाजस्ता विषय उनको यो गीतमा समेटिएको छ । बलात्कार र एसिड प्रहारदेखि कलाकारलाई हिरासतमा हाल्ने विसंगतिका सवालमा गीतमार्फत उनले आवाज उठाएका छन् । उनको गीतमा यी पंक्ति सशक्त छन् ।
छोटो कपडाले रेप हुन्छ कसले भन्यो तँलाई,
सबैको छोटो ड्रेस हुन्छ कसले भन्यो तँलाई
महिला घरमै सेफ हुन्छ कसले भन्यो तँलाई,
तेरो यही सोचले देश डुब्छ मैले भन्या तँलाई,’
चार मिनेट लामो भिडियोमा उनले देशको समस्याहरू उजागर गरेका छन् । उपचारका लागि विदेश जाने प्रवृत्तिमाथि उनको गीतमा व्यंग्य भेटिन्छ । कमजोर कानुन, सुनकाण्डलगायतका विषय उठाएका उनले गीतमार्फत आम जनताको पीडा, आक्रोश र चिन्ता देखाएका छन् । एक महिनाअघि मात्रै र्‍यापर युनिक पोयट (उत्साह जोशी) ले ‘मेरो देश बिरामी’ बोलको गीत सार्वजनिक गरे । उनको गीतमा पनि देशप्रतिको चिन्ता झल्किन्छ । बलात्कार, भ्रष्टाचार, अत्याचारले देश बिरामी भए पनि भोलि देश ठीक हुने आशा उनको गीतमा पाइन्छ । ‘मेरो देश बिरामी, तर पार्नेछौं यल्लाई ठीक एक दिन हामी’ गीतको यो अंशमा पनि आशा छ । कलामाथिको हस्तक्षेपलाई लिएर आक्रोश भेटिन्छ उनका र्‍यापमा । ‘मैले गर्ने कलामा कलंकको छाप, हिपअप माने समाजको ऐना, बलात्कारलाई रोक हाम्रो आवाजलाई होइन,’ उनको गीतमा उक्त आक्रोश प्रस्टै सुनिन्छ ।


युनिकको गीतमा मात्र होइन । पछिल्लो समय र्‍यापर बालेन शाहले पनि देशको समस्याहरू उजागर गर्दै नयाँ गीत सार्वजनिक गरे । सात महिनाअगाडि युट्युबमा सार्वजनिक गरेको ‘बलिदान’ बोलको गीतमा पनि उनले देशको जनताको पीडा र दुःख समावेश गरेका छन् । अहिलेको वास्तविक समाज झल्किन्छ उनको गीतमा । हिपअपलाई समाजको ऐना भनिन्छ । ‘समाजमा के भइरहेको छ, त्यस कुरालाई हिपअपले देखाउन सक्छ । अनि भन्न खोजेको कुरा भन्न मिल्ने समयमा हामीले देशको कुरा किन नगर्ने रु त्यही गीत ल्याएँ,’ बालेन सुनाउँछन् । सामाजिक मुद्दामा र्‍याप गाउन उनी पनि सक्रिय छन् । उनको पछिल्लो गीतको शीर्षक ‘बलिदान’ हो । तुलसी घिमिरेले निर्देशन गरेको ‘बलिदान’ को समयलाई कल्पिदै उनी यो समय आवाज उठाउन रोकटोक नभएको बताउँछन् । ‘बलिदान फिल्मको समयमा कलाकारहरूले देशको राजनीतिक व्यवस्थाबारे बोल्न खोज्दा सरकारले केही गर्न दिँदैनथ्यो । तर अहिलेको समयमा हामी बोल्न सक्छौं,’ उनले भने, ‘सरकारले दुःख दिन सक्छ । तर पनि हामी त लोकतन्त्रमा छौं । बोल्न पाउने स्वतन्त्रता छ । यस्तो अवसर मिलेको बेलामा हामीले किन नबोल्ने र?’देशप्रति चासो बढी भएर आफ्नो गीतमा देशका समस्या निस्कने ‘मिस्टर डी’ बताउँछन् । ‘देशमा फ्रस्टेसन छ जहाँ पनि । त्यही कुराहरूले पेलेको भएर लेखेको हो । यस्ता कुरा झेलिरहेकै भएर होला दर्शकले मन पराइदिनुभयो,’ उनले भने, ‘यम बुद्धले गर्दा पनि होला आजकल प्रेमिकाको विषयमा भन्दा पनि देशको विषयमा लेख्न मन लाग्छ । मानिसको सोच परिवर्तन होस् भनेर यस्तो गरेको हो ।’ संगीतका अन्य विधाले यस्तो विषयलाई कमै समावेश गर्ने बालेनको तर्क छ । त्यसैले उनी भन्छन्, ‘हामी यस्तो विषयमा आवाज उठाउँछौं किनभने अरू संगीतका विधाले पनि सिकोस् ।’

यसरी आवाज उठाउँदा सम्बन्धित निकायसामु दबाब सिर्जना हुने उनी बताउँछन् । यस किसिमको गीतमार्फत युवाले पनि समाजको वर्तमान स्थितिसँग परिचित हुन पाउँछन् । यो गीत एक दिनमै लेखेका हुन् । चर्चित र्‍यापर भिटेनलाई हिरासतमा राखेर छाडेपछि उनलाई यो विषयमाथि गीत लेख्ने मन भएको हो । अभद्रता आरोपमा भिटेनलाई पक्राउ गरेको प्रहरीले पछि दबाब पर्दा छाडेको थियो । ‘त्यस विषयमाथि बोल्नै पर्छ भन्ने भान भएपछि आफूले यस विषयमा गीत लेखें,’ उनले भने, ‘यसको मतलब हामी चुप बस्दैनौं । झन् बोल्छौं अब । हामीले नै बोलिरहेका छौं हामीलाई नै पेल्ने रु त्यही भएर हिपअप समुदायमा जागरुक भयो । हामीले के देखाउन खोजेका भने एक जनालाई सरकारले समात्दा १० जनाले त्यस्तो गीत बनाउँछ ।’ भिटेनको विषय उठ्नासाथ मिस्टर डीले भने ‘भिटेनलाई समाउन जरुरी थिएन । तर शक्तिको प्रयोगमा समातियो । त्यो शक्ति कलाकार समात्नमा भन्दा पनि सकारात्मक कुरा प्रयोग होस् भन्ने हाम्रो धारणा हो । अहिलेसम्म निर्मला हत्याकाण्डको अपराधी समातिएको छैन । त्यस्तो कुरामा ध्यान दिइयोस्, कलाकारको पछाडि दौडिने होइन वास्तविक अपराधी समात्न दौडिओस् भनेर त्यो विषय गीतमा जोडें ।’ यस्तो गीतलाई दर्शकले अन्य गीतलाई झैं मन पराउँदैनन् भन्ने थाहा थियो बालेनलाई । तर उनको गीतलाई ९ लाख बढीले हेरेका छन् युट्युबमा । उनी भन्छन्, ‘यस्तो गीतमा १ लाख भ्युज आउन गाह्रो पर्छ ।

तर दर्शकले मनपराइदिनुभयो । यसको मतलब हामीले युवामा जुन बीउ रोपेका थियौं त्यो बढिसक्यो । अब युवाले पनि बुझिसके ।’देशको अवस्था नसुध्रिएको देखेर होला पेसागत हिसाबले स्ट्रक्चरल इन्जिनियरसमेत रहेका बालेन काठमाडौं महानगरको चुनाव लड्ने इच्छा राख्छन् । हुन त यस्तो गीतमा कम भ्युज आउँछ भन्ने थाहा थियो मिस्टर डीलाई पनि । तर यस्तो गीतले युवालाई जोस दिने भएकाले पनि आफूले यस विषयमा र्‍याप गाएको उनी बताउँछन् । ‘यो गीतहरू एकपटक सुनेपछि दोहोर्‍याएर सुन्न मन लाग्दैन । लभ सङहरू त दिनमा तीन पटक ब्रेकअप परेपछि त सुन्न मन लागिहाल्छ नि । त्यही भएर यस्तो गीतमा भ्युज कम जान्छ,’ उनले सुनाए, ‘तर यसले मानिसलाई केही क्षणका लागि पनि जोस दिन्छ जस्तो लाग्छ । हाम्रो देशको स्थिति के छ भनेर सोच्न बाध्य गराउँछ ।’ उनले यसअघि लकडाउनमा घरमै थुनिएर बसेका दर्शकलाई आशा जगाउने किसिमको गीत बनाएका थिए । लकडाउनबीचको समस्यासँगै छुवाछुतका विषयमा पनि र्‍यापमार्फत आवाज उठाए । उनी आफ्नो गीतमा देशको समस्या समेट्न रुचाउँछन् । ‘मलाई मेरो गीतमा सबै समस्या समेट्न मन लाग्छ । सबै पीडा समेटियोस् । देश राम्रो भइहाले पछिका पुस्ताका लागि यो दस्तावेजका रूपमा रहोस् भनेर समस्या समावेश गर्छु,’ उनले भने ।

र्‍यापर गिरीश खतिवडाले पनि सामाजिक मुद्दामा र्‍याप गाउँछन् । उनले पछिल्लो समय ‘बालुवाटार घेर, सिंहदरबार’ बोलको गीत ल्याएका थिए । त्यस्तै पछिल्लो समय सुरज क्षेत्री ९भ्योमा० र दीपक कहार ९डी–१० ले पनि फरक विषयमा र्‍याप गीत ल्याए– ‘ढाका धोती’ । पहाडिया र मधेसीबीचको भेदवाद अन्त्य गर्न हिपअप संगीतको प्रयोग गरेको सुरज बताउँछन् । ‘मधेसलाई हेर्ने नजर पनि परिवर्तन होस् र पहाडी र मधेसबीच विभेद नहोस् भनेर गीत गरें,’ उनले सुनाए, ‘आजको दिनमा पनि मधेस बेल्टको मानिसलाई होच्याउने गर्छ । मधेसमा एउटा पहाडिया गयो भने त्यस्तो व्यवहार हुन्छ । मधेस र पहाडीबीच भएको गलत सोचहरूको अन्त्य गर्ने सोचले गीत गर्‍यौं ।’ मधेसले पनि हिपअप सुन्ने गरेको देखाउन पनि नयाँ अभ्यास गरेको सुरज बताउँछन् । ‘यो गीत सुन्नुपर्छ । मधेसमा हिपअप चल्दैन भन्ने कुरा धेरै छ । त्यो कुराहरू हटाउन पनि हामीले गीत ल्याएका हौं । प्रमुख भनेको चाहिँ हिपअपबाट पनि हामीले मधेसलाई अगाडि बढाउन सकिन्छ भनेर हो,’ गीतको प्रसंग जोड्दै भने, ‘हिपअप भनेको त समाजको प्रतिबिम्ब हो । त्यसैले समाजमा जस्तो चलिरहेको छ । जुन कुरा हामीले देखिरहेका थियौं । त्यही विषयमा समान्य तरिकाले गीत बनायौं ।’

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार
Translate »