‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’द्धारा किसानलाई सम्मान

स्काई न्यूज / भदौ १,सल्यान ।
सल्यानमा ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’कार्यक्रमबाट ३९ ओटा फार्म तथा कृषकलाई सम्मान गरिएको छ । कृषि विकास कार्यालय सल्यान र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा जिल्लामा व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका ३९ ओटा फार्म तथा कृषकलाई सम्मान गरिएको हो । कृषि विकास कार्यालयबाट जिल्लास्तरमा २ जना उत्कृष्ट कृषक तथा २ ओटा सहकारी सम्मानित भएका हुन् । जिल्लास्तरमा उत्कृष्ट कृषकको रूपमा सुन्तला कृषक लोकबहादुर डाँगी र तरकारी कृषक पूर्णवती बुढाथोकीलाई सम्मान गरिएको हो ।

यस्तै पालिका स्तरबाट छनोट भएका १५ जना कृषकलाई पनि सम्मान गरिएको छ । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्लास्तरका २ जना उत्कृष्ट कृषक र एउटा सहकारीलाई सम्मान गरेको छ भने पालिका स्तरका १७ जनालाई सम्मान गरेको छ । जिल्लास्तरमा उत्कृट कृषकको रूपमा त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्कालाई सम्मान गरिएको छ । २०७२ सालदेखि ५ ओटा भैंसीबाट व्यवसाय शुरू गरेकी करुणाले जिल्ला स्तरमै उत्कृष्ट कृषकको रूपमा सम्मान पाएकी हुन् । दिनभर जनताको सेवामा खटिने र बाँकी रहेको साँझ बिहानको समय व्यवसायमा खर्चिंदै आएको उनले बताइन् ।

Translate »