सुनको मुल्य फेरि एक लाख नाघ्यो


भदौ २,काठमाडौँ ।
सुनको भाउ फेरि एक लाख नाघेको छ ।आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार ३ सय ८० रुपैया पुगेको छ । यसअघि लगातार सुनको मूल्य बढे पनि केही दिनअघि फेरि घटेको थियो । गत साउन २३ गते सुनको भाउ अहिले सम्मकै उच्च प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सुनको भाउ विस्तारै घट्न थालेको थियो । साउन २८ गते नेपाली बजारमा सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको थियो । कोरोना महामारीका बीच अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतार चढाव आएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Translate »