अन्तरराष्ट्रिय उद्धार उडान अनिश्चित कालका लागि स्थगित

भदौ २, काठमाडौं ।
विदेशमा अलपत्र रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्व निर्धारित उद्धार उडान अनिश्चित कालका लागि स्थगित भएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले विदेशबाट फर्कनेहरुका लागि होटल क्वारेन्टाइन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो । सोही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर उडान मंगलवारदेखि स्थगन गरेको छ । हालैको मन्त्रिपरिषद् बैठकले भदौ १ अर्थात् अगष्ट १७ तारिखदेखि दैनिक ५०० नेपालीलाई उद्धार उडानमार्फत स्वदेश फर्काउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुरुप नेपालका दुई वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार चार्टर उडान गरी नेपालीलाई फर्काउने तालिका बनाएका थिए । नेपाल एयरलाइन्सले अगष्ट १७ देखि ३१ र हिमालय एयरलाइन्सले अगष्ट १६ देखि ३० सम्मको उडान तालिका बनाएका थिए । विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली फर्काउन पाँचौँ चरणको उद्धार उडानका लागि सीसीएमसीले ४३ ओटा उडान अनुमति दिएको थियो । कोरोनाको संक्रमण बढिरहेको र विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने क्रम पनि बढिरहेकोले होटल क्वारेन्टाइनको व्यवस्था नभएको ब्यहोरा जनाउदै सीसीएमसीले उद्धार उडान स्थगन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको हो । सीसीएमसीले पर्यटन मन्त्रालयलाई पठाएको पत्रमा होटेल क्वारेन्टाइन सुनिश्चत हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गर्न भनिएको छ । उडान स्थगित भएपछि नेपाल एयरलाइन्सले सूचना निकालेर अगष्ट १८ तारिखदेखि उद्धार उडान अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गरिएको जानकारी दिएको छ । सीसीएमसीको विवरणमा भदौ १ गतेसम्म विभिन्न मुलुकबाट घर फर्किने नेपालीको संख्या ५१ हजार ७६१ रहेको छ ।
दुबईबाट रित्तै फर्कियो निगमको जहाज
नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको छ । काठमाडौंबाट २३१ यात्रु लिएर सोमवार दुबई गएको वाइड बडी जहाज मंगलवार बिहान काठमाडौं फर्किएको हो । काठमाडौंबाट विभिन्न मुलुक जानेभन्दा पनि विदेशी गन्तव्यबाट नेपाल फर्कने यात्रुको अत्यधिक चाप रहेको र मागअनुसार सिट दिन नसक्ने अवस्था रहेको पनि निगमले उल्लेख गरेको छ । निगमले मंगलवारदेखि अनिश्चितकालका लागि सबै अन्तरराष्ट्रिय चार्टर उडान बन्द गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

Translate »