कृषि फर्ममा आठ लाखको क्षति
स्काई न्यूज / सल्यान ।
भारी वर्षा पछि मङ्गलवार राती आएको बाढीले श्रीनगरमा रहेको समृद्धि पशुपक्षी तथा कृषि फर्ममा पस्दा आठ लाख बराबरको क्षति भएको छ । सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा बाढी पस्दा माछा, कुखुरा नष्ट हुँदा आठ लाखभन्दा बढीको क्षति भएको हो । बाढीले पोखरीमा रहेका चार हजार माछाका भुरा, पाँच सय ५० कुखुरा र १५ बोरा कुखुराको दाना बगाएको सञ्चालक हिमाल यात्रीले बताए। भगवती खोलाले बर्षेनी क्षति पुर्यााउदा पनि रोकथाम गर्ने तर्फ कुनै निकायले ध्यान नदिएको उनले बताए। त्यसै गरी गएरातीका वर्षापछि आएको बाढीले बगाउँदा बनगाड कुपिण्डेको सल्ली चौरजहारी सडक खण्डको नाथेखोलामा पुलमा काम गर्दै आइरहेका फिल्ड सुपरभाइजर दिलिप खत्री अझै बेपत्ता रहेका छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानका दर्जन बढी घरमा क्षति पुगेको र क्षतिको सम्पूर्ण विवरण भोलिसम्म आउने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।