अछामको रामारोशनमा बाढीमा परेर ६ जनाको मृत्यु, ११ बेपत्ता

स्काई न्यूज /भदौं ३, सुर्खेत
अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा मंगलबार रातिको बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन । बाढीमा परी बेपत्ता भएका १७ जना मध्ये ६ जनाको शव भेटिएको हो । घटनास्थलमा बेपत्ताहरुको खोजीकार्य जारी राखिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको टोलीले बुधबार घटनास्थलको स्थलगत अध्ययन गरेको हो । सो क्रममा टोलीले बाढीमा परी घाइते भएका ३ जना र एक जना सुत्केरीको उद्दार गरी अस्पताल लगेको र बाढीका कारण फसेका व्यक्तिहरुलाई पनि उद्दार गरेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले जानकारी दिए । बाढीले नदी किनारमा रहेका कैयौं घरहरु बगाएको छ । जिल्लास्थित सरकारी निकायले बाढी प्रभावितहरुलाई राहतका रुपमा खाद्यान्न, भाँडवर्तन तथा लत्ताकपडाहरु हेलिकोप्टरमार्फत पु¥याइिएको जिल्ला प्रशासन कार्यालय अछामले बताएको ।


अविरल वर्षाका कारण कैलाशखोलामा आएको बाढीले खोला किनारमा रहेको सैनीबजारका सम्पूर्ण घर तथा पसल बगाएको र घटना स्थलबाट करिब ३ र४ किलोमिटर टाढा शव फेला परेका रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताईन् । घटनाबाट के, कति क्षति भयो भन्ने यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोले रामारोशन गाउँपालिकाको केन्द्र रहेको मुजाबगर बजार, गाउँपालिकाको कार्यालयमा समेत पानी पसेर क्षति गरेको छ । गज्जडबजार, कैलाशखोलामा रहेको शीला पक्की पुलको आधा भाग बगाएको छ भने थुप्रै खेतहरु बगरमा परिणत भएको प्रहरीको भनाइ छ ।

Translate »