शहीदका सपना साकार हुने चरणमाः मुख्यमन्त्री शाही

आज कर्णालीमा सार्वजनिक विदा

स्काई न्यूज / भदौं  ४, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शहीदले देखेका सपना साकार हुने चरणमा प्रवेश गरेको बताएका छन् । प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा विहीबार मुख्यमन्त्री मन्त्रीपरिषद् कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा शहीदका तस्वीरमा माल्यापर्ण गर्दै मुख्यमन्त्री शाहीले प्रदेश स्थापनाका लागि त्याग र बलिदान गर्ने शहीदले देखेका सपना पुरा गर्न प्रदेश सरकारले लागि परेको बताएका हुन् । उनले विशेष प्याकेजमै शहीदको आर्थिक एवं सामाजिक कार्यक्रम सशक्तरुपमा कार्यान्वयन गर्न सकिए मात्र शहीदका सपना पुरा हुने बताए । लामो समयदेखि अन्यायमा पर्दे आएको कर्णाली प्रदेशको वस्तुगत अवस्थाका कारण अन्य प्रदेशसँग तुलना गर्न नमिल्ने भएकाले सन्तुलन कायम गर्न संघीय सरकारले क्षतिपूर्ति दिनु पर्ने उनको भनाइ थियो ।

‘अहिले पनि कर्णालीलाई अन्य प्रदेशसँग तुलना गर्न थालियो भने त्यो फेरीपनि विभेद हुनेछ,’ उनले भने, ‘मानव सूचकांकमा पछाडी परेको कर्णांली प्रदेशलाई विशेष प्याकेजमै आर्थिक तथा सामाजिकरुपमै रुपान्तरण गर्न आवश्यक छ ।’ उनले देश संघीय शासन व्यवस्थालाई अंगिकार गरिरहेका बेला कर्णालीको आफ्नै विशिष्ठ पहिचान रहेकै कारणले छुट्टै प्रदेश स्थापना भएको जिकिर गरे । उनका अनुसार प्रदेश प्राप्तिका दौरान शहीदले भिन्न–भिन्न समयमा शहादत प्राप्त गरेकाले संघीय सरकारले छुट्टै प्रदेशका रुपमा कर्णाली प्रदेश घोषणा गरेको दिनलाई नै प्रदेश स्थापना तथा शहीद दिवस मनाईने गरिएको हो । यो वर्ष भव्यरुपमा प्रदेश स्थापना तथा शहीद दिवस मनाउने योजना हुँदाहुँदैपनि कोरोना भाइरस नियन्त्रण तथा रोकथामका कारण त्यो पुरा हुन नसकेको मुख्यमन्त्रीको भनाइ थियो । उनले प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै प्रदेशका सीमा नाकामा कडाई एवं प्रदेशका मुख्य–मुख्य शहरमा निषेधाज्ञा गरिएको जनाए ।

प्रदेशका विभिन्न जिल्लामा विकास निर्माण कार्यको अनुगमन तथा सुपरीेवेक्षणलगायतका कामले प्रदेश राजधानी बाहिर गएका मन्त्री, सचिव एवं कर्मचारीको अनिवार्य पीसीआर टेष्ट गरेर नेगेटीभ रिपोर्टपछि मात्र मन्त्रालय प्रवेश गराईने उनको भनाइ छ । उनले कोरोना भाईरसका कारण विशेष अवस्था सृजित भएकाले बढि भिडभाड, जमघट, हुने कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरे । प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा प्रदेशभरी विहीबारसार्वजनिक बिदा दिएको छ । प्रदेश सरकाले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउँदै आएको छ । विसं २०७२ साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए । तत्कालीन सरकारले मृतकलाई शहीद घोषणा गर्नाका साथै अलग प्रदेश स्थापनाको माग पुरा गरेपछि आन्दोलन स्थगन भएको थियो । कर्णाली सरकारले यही दिनको सम्झनास्वरुप विहीबार साँझ प्रदेशभरीका सरकारी कार्यालय तथा घर–घरमा दिपज्योती बाल्न आग्रह गरेको छ ।

Translate »