विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्री शाहीको निर्देशन

स्काई न्यूज / भदौं ५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम तथा विपद् प्रतिकार्यप्रति सक्रियतापुर्वक जुट्न प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । आज (शुक्रवार) प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठकको आयोजना गरी उनले नागरिकको जीउ धनको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले सबै पक्ष जवाफदेही बन्नु पर्ने औल्याएका हुन् । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसँग अनिवार्य पीसीआर रिपोर्ट माग गर्ने निर्णय गरेको बताउँदै उनले निर्णयलाई कडाईपूर्वक कार्यान्वयन गर्न, गराउन निर्देशन दिए ।

प्रदेशमा मेलापर्वको समय शुरु भईसकेकाले कुनैपनि मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, बैठक र भिडभाड हुने गतिविधि कडाईपुर्वक रोक्न आग्रह गरे । वर्षायामका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट बढी क्षति हुने भएकाले उद्दार, उपचार, राहात तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउँदै विपद्ले पु¥याएको क्षति एवं घाईतेहरुको अवस्थाका बारेमा तत्काल रिपोर्टिङ्ग गर्न उनले सुझाव दिए । प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा अक्सीजन, कम्तीमा एउटा भेन्टीलेटर र ५ देखि ७ वटा आईसीयू वेड व्यवस्था गर्न लागेको जानकारी गराउँदै उनले जिल्ला विपद् व्यवस्थापन केन्द्र (डिसिएमसी) बैठकबाट स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशका हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनु निर्देशन दिए ।