साढे ६ करोड रूपैयाँमा प्रशासनिक भवन बनाउँदै डुंगेश्वर

स्काई न्यूज / भदौ ९,दैलेख ।
दैलेखको डुंगेश्वर गाउँपालिकाले रू.६ करोड ५४ लाख लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने भएको छ । हालसम्म भाडाको भरमा चल्दै आएको गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्न हालै एक कम्पनीलाई ठेक्का दिएको छ । संघीय सरकारकोे ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन निर्माण गर्न लागिएको हो । १० रोपनी क्षेत्रफलभित्र निर्माण हुने उक्त प्रशासनिक भवनको निर्माण आर्थिक वर्ष २०७८/७९ को असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । डुंगेश्वर गाउँपालिका–५ डाँडागाउँमा निर्माण गर्न लागिएको सो भवनको केही दिनअघि मात्र शिलान्यास गरिएको छ । भवन निर्माणका लागि स्थानीय नरेन्द्र न्यौपाने र नरबहादुर मल्लले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन वर्षपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरू गरेको हो ।

Translate »