कक्षा ११ को नयाँ पाठ्यक्रम लागू हुन्छ

भदौ ९, काठमाडौं ।
कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने क्रममा कार्यान्वयनका लागि चाहिने सबै तयारी पूरा गर्दै अघि बढ्न पाठ्यक्रम विकास केन्द्रलाई सरोकारवालाहरूले सुुझाएका छन् । शिक्षा पत्रकार समूह द्धारा सोमवार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा यस्तो सुझाव दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णय अनुसार यही शैक्षिक शत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यक्रम लागू गर्ने तालिका रहेको छ । सोही तालिका अनुसार पाठ्यक्रम विकास केन्द्र सानोठिमीले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने तयारी लगभग पूरा भएको बताएको छ । छलफलमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले मूल तथा ऐच्छिक गरी ८५ ओटा विषयमा पाठ्यक्रम बनेर स्वीकृत भइसकेको र अब २२ ओटा बाँकी रहेको जानकारी दिए । ‘जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तक छपाउने क्रम शुरु भइसकेको छ,’ उनले भने, ‘निषेधाज्ञाका कारण छपाई रोकिएको छ, सकिनेबित्तिकै पुनः छाप्न शुरु हुनेछ ।
’ दाहालले देशको राजनीतिक तथा सामाजिक परिवर्तन अनुसार नयाँ परिवेशमा विद्यार्थीले पढ्न पाउनुपर्ने पक्षलाई ध्यान दिई राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको निर्णयअनुसार बनाइएको तालिका अनुरुप नै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न लागिएको बताए । दाहालले यसो भनिरहँदा निजी विद्यालय सञ्चालकहरू भने नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयहरूको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले त नयाँ पाठ्यक्रम लागू हुनै नदिने ठोकुवा गरे । यसपालि नयाँ पाठ्यक्रम लागू हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उनले भने, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारीविना नै नयाँ पाठ्यक्रम लागू गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागू हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिन नसक्ने अवस्थामा पाठ्यक्रम लागू गरेर मात्र नहुने जिकिर गरे ।

यसैगरी, निजी विद्यालयहरूको संगठन एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि नयाँ पाठ्यक्रम यो वर्ष लागू गर्न नहुने बताए । नयाँ पाठ्यक्रममा ग्रेड, मूल्याङ्कन/परीक्षा लगायतका विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । प्याब्सनका अध्यक्ष टिकाराम पुरीको भने फरक मत थियो । आफू नयाँ पाठ्यक्रमकै पक्षमा रहेको र पूर्ण तयारीका साथ यो लागू हुनुपर्ने उनले बताए । ‘कक्षा ११ को पाठ्यक्रम परिवर्तनमा विपक्षी कोही छैन । तर, निषेधाज्ञामा पनि पाठ्यपुस्तक छपाएर सरकारले तयारीलाई तीव्रता दिनुपर्छ,’ उनले भने । शिक्षाविद् विमलकुमार फुँयालले पाठ्यक्रम कार्यान्वयन गर्न पूरा गर्नुपर्ने सबैखाले तयारीमा ख्याल पुर्याउनुपर्ने धारणा राखे । पाठ्यक्रम परिवर्तन गर्नुपर्नाका कारण खुलाउँदै लागू गर्ने निकायले सम्बद्ध पक्षलाई स्पष्ट पार्न सक्नुपर्ने फुँयालले बताए । मुख्यतः संस्थागत र पेशागत दक्षता बढाई शिक्षकलाई नयाँ पाठ्य–विषयमा अभिमुखीकरण गराउनुपर्ने उनले सुझाब दिए ।
छलफलमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरूले भने नयाँ पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रले खुट्टा नकमाई लागू गर्नुपर्नेमा जोड दिए । काठमाडौंस्थित विश्व निकेतन माविका प्रअ हेरम्बराज कँडेलले भने, ‘नयाँ पाठ्यक्रम सबैको सहमतिमा बनेको छ । यसलाई कार्यान्वयन गर्न हामी तयार छौं ।’ निजी विद्यालय सञ्चालकहरूले विरोध गरेपनि पाठ्यक्रम विकास केन्द्र भने यही वर्षबाटै नयाँ पाठ्यक्रम लागू गर्ने तयारीमा रहेकाले कोही पनि भ्रममा नपर्न महानिर्देशक दाहालले स्पष्ट पारे । तयारी सँगसँगै पाठ्यक्रम पनि लागू गर्दै जाने उनले बताए । सरकारले कक्षा १ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम लागू गर्ने नीति अनुसार विद्यालय शिक्षाका सबै तहका पाठ्यक्रमहरू क्रमशः परिवर्तन गर्दै आएको छ । यो नीतिका कारण कक्षा ११ र १२ का संकायगत पाठ्यक्रम अब विस्थापित हुनेछन् । छलफलमा सामुदायिक तथा निजी विद्यालयका शिक्षक, शिक्षा अभियन्ता, पत्रकार तथा सरोकारवालाहरू गरी ९० भन्दा बढी सहभागी थिए ।