पाँचओटा पक्की पुल निर्माणमा २१ करोड खर्च

स्काई न्यूज / भदौ २६,सल्यान ।
भौगोलिक रूपमा विकट मानिएको सल्यानमा पूर्वाधार विकासको कामले तीव्रता पाउन थालेको छ । पछिल्लो समयमा देशको नीति निर्माणदेखि उच्च तहसम्म सल्यानी नेताहरूको पहुँच पुग्न थालेपछि जिल्लामा पूर्वाधार विकासका लागि करोडौं रकम विनियोजन हुन थालेको छ । जिल्लामा बितेको आर्थिक वर्ष २०७६/७७ मा पाँचओटा पक्की पुल निर्माण गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रहरूमा निर्माण गरिएका पक्की पुलका लागि २० करोड ९४ लाख रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय सल्यानले बताएको छ । जिल्लाको कालाखेत पिपलनेटा जोड्ने शारदा नदीमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । रू. ३ करोड ४० लाखमा सो पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।

विगतमा यहाँ पक्की पुल नहुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आएका थिए । त्यस्तै शंखमूल–झिम्पे सडकखण्डको लड्केनी शंखमूल खोलामा २५ मिटर लामो पक्की पुल निर्माण भएको छ । रू. ३ करोड ३९ लाख लागतमा सो पुल बनेको हो । साथै सोलावाङ रिम सडकखण्डको घट्टे खोलामा १५ मिटर लामो अर्को पुल पनि निर्माण भएको छ । यसैगरी स्थानीय सडक पुल कार्यक्रम मार्फत त्रिवेणी लुहाम सडकखण्डको लुहाम खोलामा ९९ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । सो पुल रू. ८ करोड २७ लाख लागतमा निर्माण भएको हो । यस्तै थारमारे बडागाउँ रुकुम चौरजहारी सडकखण्डको त्रिवेणीमा रहेको जिमाली खोलामा १८ मिटर लामो पक्की पनि निर्माण भएको छ । पुल निर्माणका लागि रू। २ करोड चार खर्च भएको छ । यस्तै सिद्धकुमाख गाउँपालिका–१ मोख्ला भएर भएर छत्रेश्वरी गाउँपालिका दमाचौर सडकखण्डको मोख्लामा ३५ मिटर लामो पुल निर्माण भएको छ । रू। ३ करोड ८३ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनीयर विनोद पुनले जिल्लामा निर्माणाधीन अरू पक्की पुलको काम पनि समयमै सक्नेगरी काम भइरहेको बताएका छन् ।

Translate »