चार दिनमै प्याजको मूल्य दोब्बर
पुनम बिसी /असोज २,सुर्खेत ।
प्याजको बजार भाउ सुन्दा वीरेन्द्रनगर–३ का भूपेन्द्र भण्डारी अचम्मै परे। घरायसी भान्सा प्रयोजनका लागि गत हप्तामा ७० रुपैयाँ प्रतिकेजी प्याज खरिद गरेका उनले शुक्रबारको बजार भाउ सुन्दा छक्कै परेको बताउँछन्। उनले भने, ‘गत हप्ता ७० रुपैयाँ प्रति केजीमा प्याज खरिद गरेर लिएको थिएँ। आज भने एक सय ३० रुपैयाँ पुगिसकेछ। के सारो भाउ बढेको होरु’ विगत चार दिनयता वीरेन्द्रनगरमा प्याजको भाउ आकासिएको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्याजको मूल्य आकासिएको हो। गत भदौ २९ गते वीरेन्द्रनगरमा प्याजको थोक मूल्य ६० रुपैयाँ प्रतिकेजी थियो। शुक्रबारसम्म चार दिनको समयमा प्याजको मूल्य बढेर एक सय १० रुपैयाँ प्रतिकेजी पुगेको छ। खुद्रा मूल्य भने एक सय ३० रुपैयाँ केजीसम्म पर्न आउँछ। भारतले प्याज निकासीमा रोक लगाएपछि यहाँका व्यापारीले मनोमानी ढंगमा प्याजको मूल्यवृद्वि गरेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाश तारा वयकको आरोप छ । उनले भने, ‘भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यापारीले पहिले नै स्टक राखेको प्याजको मूल्य आफैं बढाएका छन्।’ कर्णालीको बजारमा खपत हुने प्याज ठूलो परिमाणमा भारतबाट आयात गरिँदै आएको छ। कर्णालीका पाँच जिल्लाहरुमा खपत हुनेगरी मात्र यहाँ दैनिक १० टन प्याज वीरेन्द्रनगर आइपुग्छ ।
वीरेन्द्रनगरमा रहेको कृषिबजार व्यवस्थापन समितिका अध्यक्ष प्रवल शाहीले भने, ‘वीरेन्द्रनगरबाट खासगरी कर्णालीका पाँच जिल्लामा तरकारी आपूर्ति हुन्छ। दैनिक १० टनजति प्याज वीरेन्द्रनगरबाटै खपत हुन्छ।’ वीरेन्द्रनगरमा रहेको कृषिबजारमार्फत दैलेख, जुम्ला, मुगु, कालिकोट, जाजरकोटलगायतका जिल्लामा भारत तथा नेपालका अन्य प्रदेशबाट आयात गरिएका तरकारी आपूर्र्ति गरिन्छ । तत्काल बजार अनुगमन आवश्यक रहेको बताउँदै राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष वयकले भने, ‘तुरुन्तै बजारको अनुगमन आवश्यक छ। लकडाउनको मौका छोपेर व्यापारीहरु प्याजमात्रै हैन अन्य तरकारीमा समेत अस्वाभाभिक रुपमा मूल्य बढाइरहेका छन्।’ प्रशासनद्वारा बजार अनुगमन कार्यलाई तीव्रता दिनुपर्ने बताउँदै तरकारी व्यवसायीहरु पनि जिम्मेवारी बन्नुपर्ने उनको धारणा छ । उनले भने, ‘विश्व संकटमा परेको समयमा पनि आफ्नो मात्रै फाइदा हेरेर आफैं चर्को मूल्य निर्धारण गर्नु व्यवसायीको जिम्मेवारीपन होइन । प्रशासनले पनि चाँडोभन्दा चाँडो बजार अनुगमन गरी यस्ता अराजक व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’ चार दिनकै समयमा बजारमा प्याजको मूल्य ७५ प्रतिशतभन्दा माथि बढ्दा पनि सुर्खेतको जिल्ला प्रशासनले भने बजार अनुगमनसमेत गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने, ‘प्याजको मूल्य बढेको भन्ने खबर पाएका छौं । उद्योग वाणिज्य संघलाई त्यसबारेमा जानकारी गराएका पनि छौं, छलफल अघि बढिरहेको छ।’ हालसम्म प्याजमा भएको अस्वाभाविक मूल्य वृद्विकाबारेमा प्रशासनमा कुनै उजुरी परेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी महतले भने, ‘उजुरी आएको भएपनिहामीलाई धेरै सहज हुन्थ्यो । चाँडै नै विभिन्न निकायसँगको समन्यवमा हामी बजार अनुगमनमा निस्कने छौं।’