नेपाल सरकारले खरिद गरेको दुई सेट रेल जनकपुर आइपुग्यो

अजय कुमार झा / असोज २,जनकपुर।
जनकपुर–जयनगर चल्ने दुईसेट रेल आज जनकपुरआइपुगेको छ । भारतको जयनगरमा हिजो साँझ नै आईपुगेपनि आज दिउँसो पौने दुई बजे जनकपुरधाम आईपुगेको छ । भारतको सरकारी कम्पन्नी कोकान रेलवेज कर्पोरेशन लिमिटेडले उक्त दुईसेट रेल जनकपुर रेल्वे स्टेशनमा ल्याई सकेको छ । नयाँ रेल तथा नयाँ रेलका संरचना भएकाले प्राविधिक परीक्षणका लागि जनकपुरआएको नेपाल रेल विभागका सिनियर डिभिजनल ईन्जिनियर देवेन्द्र प्रसाद साहले जानकारी दिए।नेपाल सरकारले खरिद गरेको सो रेल भारतको कंकन कम्पनीले निर्माण गरेको दुई सेट रेलमा ८ वटा वोगी तथा दुई वटा ईन्जिन रहेका छन् । यसमा एक सेट रेलमा १ वटा वातानुकूलित डब्बा तथा तीन तीन वटा सामान्य डब्बा रहेका छन् ।

रेल विभाग सिनियर डिभिजनल ईन्जिनियर साह सहित विभागका अधिकारीहरुको विषेश उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल तथा भारतीय चालक दललाई स्वागत गरे । जनकपुरमा ल्याएर परीक्षण गरेर दुबै रेल सेट पुनः जयनगर स्थित आफ्नै स्टेशनमा पुर्याएर सुरक्षित साथ राखिने रेल विभागले साईट कार्यालयका प्रमुख ईन्जिनियर विनोद ओझाले जानकारी दिए। पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी भएको छ ।
दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा स्टेशनको भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको रेल विभागले जनाएको छ । रेल संचालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ । कर्मचारी भर्ना भए लगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ । महोत्तरीको भंगहा देखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भईरहेको छ । डिजल तथा विद्युतवाट चल्न मिल्ने रेलमा एक पटकमा १ हजार ३ सय यात्री सजिलै यात्रा गर्ने भएको छ । नेपालको झण्डा सहित चाडै रेल सञ्चालन हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । जि टु जी मार्फत भ्याट बाहेक ८३ करोड ९३ लाख ६० हजारमा खरिद भएको रेल जनकपुरधाम आएपछि रेल्वे स्टेशनमा हजारौ व्यक्ति कोरोनालाई वेवास्ता गर्दै भेला भएका थिए ।