बाढी पहिरो कारण कृषि क्षेत्रमा एक करोड बढीको क्षति
स्काई न्यूज / भदौ २,सल्यान ।
बाढी पहिरोले सल्यानमा कृषि क्षेत्रमा मात्र एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । साउन महिना यता बाढी पहिरोले कृषि क्षेत्रमा एक करोड २९ लाख दुई सय ३२ रुपैयाँ बराबर क्षति भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका चार सय १५ किसान बाढी पहिरोको प्रत्यक्ष मारमा परेका छन् । बाढी पहिराले एक हजार तीन सय ४० क्षेत्रफल रोपनीमा क्षति भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले जानकारी दिए। साउन महिना यता तीन हजार छ सय ९९ मुरी खाद्यान्न नष्ट भएको उनको भनाई छ । उनले भने, ‘कृषि तर्फ बालीनालीको उत्पादनको आधारमा एक करोड २९ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।’
बाढी पहिरोले सबैभन्दा बढी बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकामा क्षति पुर्याएको छ । पहिरोले जिल्लाभर २९ हजार तीन सय ६३ विभिन्न बोट बिरुवा नष्ट गरेको छ भने पाँच सय ३० क्विन्टल आलु, अदुवा र तरकारीमा नष्ट भएको तथ्याङ्क आएको सूचना अधिकारी बस्नेतको भनाई छ । जिल्लामा विपद्बाट क्षति पुगेका ६२ जनालाई राहत वितरण गरिएको् जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । आगलागी, बाढी पहिरो, चट्याङ लगायतका विपद्बाट क्षति भएका ६२ घरधुरीलाई ७० लाख पाँच हजार राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । बाढीले बगाउँदा एक जना अझै बेपत्ता रहेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको नाथे खोलामा पुल निमार्ण गर्ने फिल्ड सुपरभाइजर बनगाड खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।