सल्यानमा राहदानी बनाउने बढे

स्काई न्यूज / असोज ६,सल्यान ।
सल्यानमा विभिन्न प्रयोजनका लागि विदेश जान राहदानी बनाउनेको संख्या बढेको छ । विदेश जान राहदानीका लागि आवेदन दिनेको संख्या जिल्लामा वर्षेनि बढ्दै गएको जिल्ला प्रशासन कार्यालय, सल्यानले बताएको छ । ‘वैदेशिक रोजगारी, अध्ययन लगायतका लागि राहदानी बनाउनेहरूको संख्या बढेको छ,’ जिल्ला प्रशासन कार्यालय सल्यानका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले भने, ‘सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेहरू छन् ।’ पछिल्लो समय राहदानी बनाउने महिलाको संख्या पनि उल्लेख्य रहेको उनले बताए । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६ / ७७ मा मात्रै २ हजार ७५३ जनाले राहदानीका लागी सिफारिश लिएका छन्, जसमा जिल्ला प्रशासन कार्यालयबाटै २ हजार ५९ र द्रुत सेवाबाट ६९४ जनाले सिफारिस लिएका हुन् । रोजगारीका लागि विदेश जान राहदानी बनाउनेहरूमा प्रायःजसो १८ वर्षदेखि ३५ वर्षसम्म समूहका युवा रहेको सूचना अधिकारी लामिछानेले बताए । पढाइ बीचमै छोडेर नागरिकता बनाउने र वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेहरू धेरै रहेको उनको भनाइ छ । थोरै पढाइ लेखाइ गरेर बेरोजगार बसेका अधिकांश युवा विदेश पलायन हुने गरेका छन् । हरेक वर्ष सरकारले ल्याएका युवा लक्षित रोजगारका कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन नहुँदा विदेशिनुपर्ने बाध्यता उनीहरूको छ ।

 

Translate »