सिमीकोटमा सडक पुग्न कठिन

स्काई न्यूज / असोज ९,हुम्ला ।
देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्र जिल्ला हुम्लाको सदरमुकाम सिमीकोटमा चालू आर्थिक वर्षमा पनि सडक पुग्न कठिन देखिएको छ । हुम्लाको सदरमुकामसम्म सडकको ट्र्याक खोल्न सडक विभाग र नेपाली सेना दुवै लागिपरेका छन् । सडक विभागले निर्माण गरिरहेको झण्डै एक किमी सडकका कारण चालू आर्थिक वर्षमा पनि सिमीकोट सडक पुग्न कठिन हुने देखिएको उत्तर दक्षिण कोरिडोर निर्देशनालयले बताएको छ । सबैतिरबाट सहयोग भएमा चालू आवमा सक्नेगरी लागिएको निर्देशनालयका प्रमुख शिवप्रसाद नेपालले बताए । उनका अनुसार नेपाली सेनाले ब्लास्ट गर्न सहयोग र स्थानीयवासीले जग्गामा सहजीकरण गर्दा मात्रै यो वर्ष सकिने देखिएको छ ।आयोजनाले निर्माण गरिरहेको ५० किमीमध्ये ३५ किमी ट्र्याक खोलिसकेको छ भने १५ किमी ट्र्याक खोल्न बाँकी छ । कर्णाली राजमार्ग आयोजनाले काम गरिरहेकामा दुई चट्टान क्षेत्र र दुई सजिलो क्षेत्र छ । चट्टान क्षेत्रमा ट्र्याक खोल्न आवश्यक उपकरण ढुवानी गर्न कठिन रहेको प्रमुख नेपालले बताए । ट्र्याक खोल्न बाँकी एक किमी कठीन भूगोल रहेको छ । निकै ठूला चट्टान रहेको हुँदा काममा कठिनाइ रहेको छ । आयोजनाले पनि सलिसल्ला र सिमीकोट गरी दुवैतर्फबाट निर्माणको काम गरिरहेको छ । सजिलो ठाउँ काम गरिसकिएको र अप्ठेरो ठाउँमा काम गर्न आवश्यक उपकरण र विस्फोटक पदार्थ लग्ने काम भइरहेको उनको भनाइ छ ।
आयोजनाले निर्माण गरिरहेको स्थानमा विस्फोटक पदार्थ सिमीकोटदेखि ल्याएर सेनाको टोलीले काम गरिरहेको छ ।

अहिले सिमीकोटबाट सेनालाई हिँडेर आउनै तीन दिन लाग्छ । आयोजनाले तयारी गरेर बोलाउँदा अहिले महीनामा दुईओटा मात्रै विस्फोटन हुन सक्ने अवस्था रहेको प्रमुख नेपालले बताए । कालिकोटको खुलालदेखि हुम्ला सदरमुकाम सिमीकोटसम्म १२३ किमी सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । त्योमध्ये ११३ किमी ट्र्याक खोलिसकेको छ भने झण्डै १० किमी ट्र्याक खोल्न बाँकी छ । सो क्षेत्रमा आगामी वैशाखसम्म सक्नेगरी सेनाले निर्माण अघि बढाइरहेको छ । देशभरका अरू आयोजनामा जस्तै यो सडकमा पनि निर्माण व्यवसायीको कारण पनि ढिलाइ भइरहेको छ । निर्माणमा जति मान्छे र उपकरण चाहिने मात्रामा नलाने गरेर ढिलाइ गरिरहेको नेपालले बताए । मौसमका कारणले पनि निर्माण सजिलो नभएको उनको भनाइ छ । राजमार्गको निर्माणाधीन खण्डमा कतै नेपाली सेनाले र कतै सडक विभागले निर्माणको काम अघि बढाइरहेको छ । सडक निर्माणमा बजेटको भने समस्या नभएको निर्देशनालयले बताएको छ । निर्देशनालयमा विगतका वर्षदखि नै बजेटको समस्या नभएको प्रमुख नेपालको भनाइ छ । यो राजमार्गको उत्तरमा चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहसम्म कूल लम्बाइ ५३१ किमी रहेको छ । उत्तर दक्षिण कोरिडोरअन्तर्गतका तीन राजमार्गमध्ये कर्णाली राजमार्ग पनि एक हो । कालीगण्डकी र कोशी गरी अरू दुई राजमार्ग झण्डै चार/पाँच वर्षमा कालोपत्र सम्पन्न गर्ने निर्देशनालयको योजना छ ।

Translate »