सरकारी अनुगमनपछि ओरालो लाग्दै प्याजको मूल्य

असोज ९,काठमाडौं ।
भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा ह्वात्तै बढेको प्याजको मूल्य सरकारको बजार अनुगमनपछि क्रमशः ओरालो लाग्दै गएको छ । भारत सरकारले निर्यात रोकेपछि गत भदौ २९ देखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएको दोस्रो दिनदेखि नै नेपाली बजारमा प्याजको मूल्य अकाशिएको थियो । व्यापारीहरूले मनपरी प्याजको मूल्य तोक्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले निरन्तर अनुगमन गरेसँगै मूल्य घट्न थालेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार भदौ २९ गते औसत थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य भारतले निर्यात प्रतिबन्ध लगाएको २ दिनमै करिब ९९ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो १ सय १९ रुपैयाँ पुगेको थियो । खुद्रा बजारका व्यापारीहरूले प्रतिकिलो १ सय ६० रुपैयाँसम्म बेचेका थिए ।

अहिले कालीमाटी बजारमा प्याजको मूल्य १ सय २ रुपैयाँ पुगेको छ । बजारमा कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि भदौ ३१ गतेदेखि नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित काठमाडौं महानगर र उपभोक्ताकर्मीको संयुक्त टोलीले अनुगमन सुरु गरेको थियो । अनुगमनका क्रममा प्याजको कालोबजारीमा संलग्न व्यापारीहरूलाई कारबाही गर्न थालेपछि मूल्य नियन्त्रणमा आएको हो । वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार आयातमा निर्भर रहनुपर्ने बाध्यताका कारण भारतले प्रतिबन्ध फकुवा नगर्दासम्म प्याज महँगो नै भए पनि व्यापारीहरूसँगको मौज्दात नसकिएकाले अहिलेको अनुगमनले मूल्य नियन्त्रण गर्न सहयोग पुगेको छ । बजार अनुगमनका क्रममा कृत्रिम अभाव गराउने र कालोबजारी गर्ने व्यापारीहरूबाट बरामद १ सय ६४ क्विन्टल प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत शुक्रबारदेखि उपभोक्तालाई बिक्री गर्न लागिएको उनले बताए । यसरी गरिएको बिक्रीले पनि बजार मूल्यलाई केही हदसम्म नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उनको छ ।

खाद्य व्यवस्था कम्पनीले प्रतिकिलो ६० रुपैयाँका दरले एक ग्राहकलाई बढीमा ३ किलोसम्म प्याज बिक्री गर्ने योजना रहेको उनले जानकारी दिए । ‘एकै पटक धेरै विक्री गर्दा बजार मूल्यलाई नियन्त्रण गर्न नसकिने हुँदा थोरैथोरै गरेर बिक्री गर्न लागिएको हो,’ उनले भने । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना महानगरको नेतृत्वमा गरिएको अनुगमनले प्याजको कालोबजारी नियन्त्रणमा सहयोग पुगेको बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले सरकारी पक्षले गरेको अनुगमनपछि व्यापारीहरूले अनावश्यक मूल्य बढाउन छाडेको दाबी गर्छन् । भैरहवा, बुटवल र वीरगञ्जलगायतका व्यापारीहरूले भारतीय व्यापारीसँग मिलेर काठमाडौंमा प्याज निर्यात गरिरहेका भए पनि घट्नुपर्ने जति मूल्य नघटेको उनको बुझाइ छ । भारत सरकारले प्रतिबन्ध लगाएको भए पनि भारतीय सीमा बजारका व्यापारीहरूले नेपालका तराईका व्यापारीसँगको मिलेमतोमा प्याज नेपाल भित्र्याउने गरेको उनले जानकारी दिए ।

Translate »