स्थानीयको अवरोधले भेरी–बबई डाईभर्सनको काम ठप्प

स्काई न्यूज/असोज ११, सुर्खेत ।
स्थानीय जग्गा धनीको अवरोध कारणले राष्ट्रिय गौरवको भेरी—बबई डाईभर्सन बहुउद्देश्य आयोजनाको काम तीन दिनदेखि ठप्प भएको छ । जग्गा लिजमा उपलब्ध गराए वापत परिवारका सदस्यलाई रोजगारीको माग राख्दै जग्गा धनीले तीन दिनदेखि आन्दोलन गरेपछि आयोजनाको काम ठप्प भएको हो । स्थानीयले ५२ रोपनी जग्गा ५ वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीलाई दिए वापत १७ जनालाई रोजगारी नदिएसम्म काम सुचारु गर्न नदिने माग राख्दै ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध गरिएको आन्दोलनरत पक्षका अगुवा टेकबहादुर सार्कीले बताए । उनले आफ्ना तीन सुत्रीय मागहरु सम्बोधन नभएसम्म आयोजनाको काम सुचारु हुन नदिने जनाए । उनका अनुसार लिजमा जग्गा दिएका परिवारका सदस्यलाई रोजगारी दिनु पर्ने, कन्ट्¥याक्टर क्षेत्रमा ढल निकासको व्यवस्था गर्नुपर्ने र कन्ट्¥याक्टर क्षेत्र निर्माण गर्दा नष्ट भएका रुखविरुवाको क्षतिपूति दिनु पर्ने माग छन् ।

यता आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका जनसम्पर्क अधिकारी पिताम्वर सापकोटाले स्थानीयको अवरोधका कारण तीन दिन देखि आयोजनाको काम रोकिएको बताए । उनले आयोजनाको काम कोभिड—१९, लगायत प्रोजेक्टकै समस्याले ड्याम साईट (हेड वक्र्स) को काम पूर्णगतिले सञ्चालन गर्न नसकिएकाले बेला तत्काल स्थानीयको मागलाई सम्बोधन गर्न नसकिने जनाए । उता स्थानीयबाट ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध बारे जानकारी लिन खोज्दा भेरी—बबई डाईभर्सन बहुउद्देश्य आयोजना प्रमुख सुरेशकुमार शर्माको मोवाईलको घन्टि बजेपनि फोन उठाएनन् । अहिले ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध हुँदा ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका २६५ जना कामदार कामविहिन भएका छन् ।