२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 6, 2026

सिंजाको पूर्वाधार विकासमा ४० करोड



सागर परियार/ असोज ११,जुम्ला ।
खष भाषाको उद्गमस्थल सिंजा क्षेत्र विकासका लागि चालू आवमा ४० करोड बढीका योजना स्वीकृत भएका छन् । सिंजा उपत्यकाको पूर्वाधार विकासका लागि जुम्ला निर्वाचन क्षेत्र ९ख०का सांसद पदम रोकायाको सक्रियतामा ४० करोड बढीका योजना स्वीकृत भएका हुन् । ग्रामीण सडक निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको सांसद रोकायाले जानकारी दिए । सांसद रोकाया भन्छन, “गत वर्ष पनि सिंजाको विकासका लागि ७० करोडका प्रादेशिक योजना थिए । कोरोना त्रासका कारण ५० प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भयो । तर चालुआवमा सिंजाको पूर्वाधार विकासका लाागि विनियोजित ४० करोड बजेट खर्च हुने गरी काम अगाडि बढाइने छ ।” चालू आवका प्रदेशको करिब २५ करोडको लागतमा १३ वटा ग्रामीण सडक निर्माण हुने भएका छन् ।

६ वटा सिँचाइ कुलो, २ वटा पुल, १ वटा वर्थिङ सेन्टर, १ वटा तटबन्ध र ७ वटा खानेपानीका आयोजना गरी जम्मा ४० करोडको लागतमा ३२ वटा आयोजना चालू आर्थिक वर्षभित्र सिंजा क्षेत्रमा सम्पन्न हुने सांसद पदम रोकायाको भनाइ छ । अघिल्ला प्रादेशिक योजनामा पारदर्शिता तथा सुशासन कायम नभएको, पाटीका कार्यकर्तामात्रै लाभान्वित भएका गुनासो धेरै आएको थियो । तर चालू आवका योजनामा कोरोनाका कारण घर फर्किएका काम नपाएर बसेका युवालाई निर्माणको जिम्मेवारी दिने सांसद रोकायाले उल्लेख गरे ।
कुन योजनामा कति बजेट?
उनका अनुसार सिंजा उपत्यकाको पूर्वाधार विकासका लागि आव ०७७/७८ का लागि स्वीकृत बजेट कार्यक्रम पुस्तिकामा समावेश गरिएका योजनाअनुसार करिब ४० करोडका ३२ योजना छन् । जसमा १ करोड ७० लाखमा जुम्ला खलंगा नेउरीगाउँ बुलबुले सडक, ९ करोड ६ लाखमा जुम्ला खलंगा नेउरीगाउँ बुलबुले सडक, २५ लाखमा राजमार्ग रोकायावाडा रानिसिन सडक, २० लाखमा राजमार्ग रोकायाबाडा सेरी सान्टा सडक, २० लाखमा झिमिकुना समलगाउँ पारी बढुवालबाडा सिम्पाटा सडक, २० लाखमा रोकायावाडा रानीसिन पाखा सेरी सडक, २० लाखमा जुम्ला जलजला छालाचौर गोठेलबाडा कालाकाँडा सडक, १ करोड ६० लाखमा जिया चौथा मर्फान सडक निर्माण हुनेछन् । साथै, २ करोड ४० लाखमा जलजला छालाचौर गोठिज्यूला गोठेलबाडा, बुडु कालाकाँडा सडक, ३० लाखमा राजमार्गदेखि बोतागाउँ सडक, ५० लाखमा कोटघरदेखि मैसेरीसम्म सडक, ७० लाखमा मैसरीदेखि छालाचौर सडक र २० लाखमा तलिलेक्पोर डिलाचौरसम्म सडक गरी करिब २५ करोड लागतमा १३ वटा सडक योजना निर्माण हुँदैछन् । त्यसैगरी ८ करोड ५ लाखको लागतमा ५ वटा सिँचाइ आयोजना, ७० लाखमा भैसेडी र कनकासुन्दरी मन्दिर जोड्ने २ वटा पुल निर्माण, २५ लाखमा एक वर्थिङ सेन्टर, १० लाखमा खेलमैदान, करिब ३ करोड बढीमा ६ वटा खानेपानी आयोजनासहित अन्यगरी करिब ४० करोड बढीका प्रादेशिक योजना सिंजा क्षेत्रमा निर्माण हुँदैछन् ।

 

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतबार
Translate »