सुर्खेतका प्रजिअ रेग्मीबाट भेरी–बबई डाईभर्सनको अनुगमन

स्काई न्यूज / असोज १५, सुर्खेत ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन गरेका छन् । प्रजिअ रेग्मी विहीबार आयोजनाको ड्याम साईट (हेडवक्र्स) चिप्लेमा शान्ति सुरक्षाकोसँगै निर्माण कार्य प्रगतिको अवस्था बुझ्न अनुगमनमा गएका हुन् । उनले निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन/रमन जेभीका प्रतिनिधिलाई राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा सम्पन्न गराउन तर्फ कुनै कसर बाँकी नराखेर निर्वाधरुपमा कार्य अगाडि बढाउन सुझाव दिए । ‘आयोजना निर्माणमा कुनैपनि बाधा अड्चन नआउने गरि निर्माण कार्यलाई तीव्रता दिनुहोस्,’ उनले भने, ‘गौरवको आयोजना भएकाले सुर्खेतको मात्र नभई देशकै महत्व राख्ने भएकाले गुणस्तरियतासहित तोकिएकै समयमा काम सम्पन्न गनुहोस् ।’

उनले हालै स्थानीय जग्गाधनीले निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन/रमन जेभीसँग गरेको विवाद तथा समाधान बारेमा समेत चाँसो राखेका थिए । अघिल्लो सात स्थानीय नागरिकले जग्गा भाडामा दिए वापत परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग राख्दै आयोजनाको काम तीन दिनसम्म अवरोध गरेका थिए । स्थानीयले ५२ रोपनी जग्गा ५ वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन/रमन जेभीलाई दिएबापत १७ जनालाई रोजगारी दिनुपर्ने मागसहित ड्याम साईट ( हेडवक्र्स) को काम अवरुद्ध गरेका थिए । पछि आयोजना निर्माण कम्पनी गुआङ्ग्डोङ युआनियन/रमन जेभीले केही स्थानीयलाई रोजगारी उपलब्ध गराएपछि आन्दोलन साम्य भएको थियो । अनुगमनमा पुगेका प्रजिअ रेग्मीलाई आयोजना निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन/रमन जेभीका जनसम्पर्क अधिकारी पीताम्बर सापकोटाले कम्तीमा आयोजना निर्माण कार्य सम्पन्न नहुन्जेलसमका लागि एउटा सुरक्षा पोष्ट नै चिप्लेमा राखि दिन आग्रह गरेका थिए । उनले शान्ति सुरक्षाको सुनिश्चितता भएपछि आयोजनाको काम निर्वाधरुपले अगाडि बढाउन सहज हुने जिकिर गरे । अनुगमनमा प्रजिअ रेग्मीसहित सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रदेव भट्ट, सशस्त्र प्रहरीका उपरीक्षक (एसपी ) हर्कबहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत एवं प्रशासकीय अधिकृत सम्सेर रानालगायतको सहभागिता रहेको थियो ।

Translate »