श्रीनगर–खलंगा–बालुवासंग्रही सडक खण्ड कालोपत्र गरिँदै

असोज १६,सल्यान ।
सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने श्रीनगर–खलंगा–बालुवासंग्रही सडक खण्ड कालोपत्र गर्न थालिएको छ । संघीय सरकारको बजेटमार्फत उक्त सडक खण्डको कालोपत्र गर्न थालिएको हो । अहिले ज्यामिरेदेखि बाबियाचौरसम्मको करीब साढे ३ किलोमिटर सडक दुई प्याकेजमा कालोपत्र गर्न शुरू गरिएको सडक डिभिजन कार्यालय दाङले बताएको छ । सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने महत्वपूर्ण र छोटो सडक हो यो । विगतदेखि नै यस सडकको स्तरोन्नति गरिँदै आएकोमा यसपटक कालोपत्र गर्न लागिएको कार्यालयको भनाइ छ । मंसिर मसान्तसम्म काम सम्पन्न गर्नेगरी दुई निर्माण कम्पनीले कामको जिम्मेवारी लिएका छन् । अहिले सडकको छेउमा ग्याविन वाल लगाउने, नाली निर्माण गर्ने काम भइरहेको कार्यालयका इन्जिजीयर रिकेश महर्जनले जानकारी दिए ।

उनका अनुसार भ्याट सहित प्राकृतिक निशान जेभीले १ करोड ६३ लाख र क्रिष्टल निर्माण सेवाले १ करोड ५६ लाख रुपैयाँमा कामको जिम्मेवारी पाएका छन् । प्राकृतिक निशान जेभीका प्रोप्राइटर डिल्लीप्रकाश केसीले तोकिएको समयमै सम्पन्न गर्नेगरी काम भइरहेको बताए । ‘सडकको छेउमा ग्याविन लगाउने काम भइरहेको छ,’ उनले भने, ‘मंसिर मसान्तभित्रै कालोपत्रको काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।’ सल्यानको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल र कर्णाली प्रदेश राजधानी जोड्ने यो स्तरोन्नति नहुँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् । कच्ची सडक, बीच–बीचमा खाल्डाखुल्डी, वर्षात्मा हिलो र हिउँदमा धूलोले गर्दा यात्रु र स्थानीयवासीलाई समेत सास्ती हुने गरेको छ । पछिल्लो समय उक्त सडक खण्डको विभिन्न भागमा स्तरोन्नति भइरहेको छ । सो सडक खण्ड स्तरोन्नतिसँगै कालोपत्र सम्पन्न भएपछि सल्यानबाट सुर्खेत करीब ३ घण्टामै पुगिन्छ । साथै कुपिण्डे ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सहज हुनेछ ।

 

Translate »