सिमेन्ट उद्योगका टिपरले धुलो उडाउँदा गाउँबस्ती धुलाम्मे

स्काई न्यूज / असोज १६,सल्यान ।
सिमेन्ट उद्योगले कच्चा पदार्थ र सिमेन्ट ओसार पसार गर्न प्रयोग गरेका टिपरले उडाएको धुलो र धुँवाले कपुरकोटका स्थानीयले लामो समयदेखि समस्या झेल्दै आइरहेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिकास्थित कोइलामा रहेको रोल्पा सिमेन्ट उद्योगमा आउने जाने टिपरको धुलो धुँवाले आसपासका बासिन्दाले सास्ती भोग्दै आइरहेका हुन । सारपानी, खहरे, कपुरकोट बजार, सलाम, बगाले, बिसौना र खालीका झन्डै दुई सय भन्दा बढी घरपरिवारले धुलो धुँवाको सास्ती व्यहोर्दै आइरहेका छन् । जथाभावी टिपर नचलाउन पटक पटक आग्रह गरेपनि बेवास्ता हुँदै आइरहेको कपुरकोट गाउँपालिका–५ का गिरिराज ओलीले बताए । बढी भार भएका टिपर ग्रामीण सडकमा सञ्चालन हुँदा अधिकांश सडक जीर्ण बनेको उनको भनाई छ । ‘जथाभाबी धुलो र धुँवाका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छ , उनले भने, ‘बढी भार भएका गाडीका कारण सडकका अधिकांश खण्ड चिराचिरा परेका छन ।’

धुलोका कारण अधिकांश घर बस्न लायक नभएको उनको गुनासो छ । टपरले उडाउने धुलोले व्यवसाय गर्न समस्या भएको स्थानीय व्यापारी शेरबहादुर रोकाले बताए । उनले भने ‘टिपरले उडाएको धुलोले गाउँघर धुलाम्मे बनेका छन् । कपुरकोट आउने बटुवाले पनि ठूलो दुःख भोगेर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।‘ टिपरका कारण सडक छेउछाउमा लगाइएको तरकारी र अन्नबालीमा पनि असर परेको कपुरकोट गाउँपालिका–५ का वडाध्यक्ष यमकुमार बस्नेतले बताए । ‘हामीले सिमेन्ट उद्योगलाई पटकपटक सचेत गराएका छौं, तर लामो समयदेखि बेवास्ता भइरहेको छ ।’ सिमेन्ट उद्योगका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीले स्थानीयलाई असर नपर्ने गरी टिपर सञ्चालन भइरहेको दाबी गरे । सरकारले दुई वर्षयता फ्याक्ट्रीसम्म पुग्ने सडकको मर्मतमा बेवास्ता गरेको उनको भनाई छ । उनले भने, ‘सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको हो, उद्योगका तर्फबाट ढुवानी कम्पनीसँग सहकार्य गरी सामान्य मर्मतका काम नियमित गरिरहेका छौं ।’ उनका अनुसार कच्चा पदार्थ र सिमेन्ट ढुवानीको जिम्मा लिएको पुन कन्स्ट्रक्सनले प्रतिटन २५ रुपैयाँ रकम संकलन गरेर सडक मर्मतको काम गरिरहेको छ ।

Translate »