पेट्रोलमा मिसावट गर्ने पम्प सिल

अर्को आदेश नहुन्जेलसम्मका लागि शंकर आयल स्टोर्स बन्द

स्काई न्यूज / कार्तिक ४, सुर्खेत ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको शंकर आयल स्टोर्स सिल गरिएको छ । पेट्रोलमा मिसावट भएको स्थानीयको उजुरी परेपछि मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले अर्को आदेश नहुन्जेलसम्मका लागि शंकर आयल स्टोर्स सिल गरेको हो । पम्प सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन मोटरसाइकलमा राख्दा इन्जनमा खराबी आएपछि उपभोक्ताले कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका थिएँ । यता जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत श्रीसम्शेर रानाको नेतृत्वमा आयल निगमका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसमेतको संलग्नतामा गएको अनुगमन टोलीले पेट्रोलको नमूना संकलन गरि सिल गरेको हो ।

अनुगमनमा गर्न पुगेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रानाले मिसावटयुक्त पेट्रोलको नमूना संकलन गरि सिलबन्दी गरेर नेपाल आयल निगमको काठमाडौं स्थित ल्यावमा पठाउन निगमकै सुर्खेत कार्यालयलाई जिम्मा लगाईएको बताए । ल्यावको रिपोर्ट आएपछि कानून अनुसार पेट्रोलपम्म सञ्चालकलाई कार्वाही हुने उनको भनाइ छ । उता शंकर आयल स्टोर्सका सञ्चालक डम्मर महताराले डिजल ट्¥यान्करबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नु पर्नेमा भुलबस पेट्रोलको टंकीमा मिसिन पुगेको बताए । उनले उक्त मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन गरेको भएपनि एक जना नयाँ कर्मचारीले नथापाएर केही ग्राहकलाई पेट्रोल बेचेको जनाए ।

भुलबस मिसावट भएको स्वीकार गर्दै उनले मिसावटयुक्त पेट्रोल कर्मचारीले बेचेको थाहा पाउने वित्तिकै आफुले स्वःस्फूतरुपमै पेट्रोलपम्प बन्द गरेको बताए । नेपाल आयल निगम सुर्खेत प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख शिवराज भण्डारीले कुनैपनि इन्धन विक्रेताले इन्धनमा मिसावट गरेको ल्याव रिपोर्ट प्रमाणित भएमा पहिलो पटकको हकमा एक लाख रुपैयाँ जरिवानासहित एक महिनास पेट्रोलपम्प बन्द गर्ने नियम रहेको जानकारी दिए । उनले शंकर आयल स्टोरबाट मिसावटयुक्त भनिएको पेट्रोलको नमूना संकलन गरेर ल्यावमा पठाउने तयारी भएको बताए ।

 

Translate »