तीज गीतमा सर्वाधिक व्यस्त तीन मोडल, कति कमाउँछन् ?

लोकदोहोरी म्युजिक भिडियोमा सर्वाधिक ब्यस्त मोडल मानिन्छन्, अञ्जली अधिकारी र करिष्मा ढकाल । तीज गीतको भिडियोमा पनि यी दुईकै राज चलेको छ भन्दा फरक पर्दैन । यसवर्ष पनि यी दुईलाई तीज गीतको छायाँकनदेखि फुर्सद मिलेको छैन । अञ्जलीले यसवर्ष आफूले दुई दर्जन बढी तीज गीतमा काम गरिसकेको बताइन् । तीज गीतको छायाँकन सुरु भएसँगै हरेक दिनजसो आफू ब्यस्त भएको अञ्जलीको भनाई छ ।

‘ठ्याक्कै यति भनेर गनेकी त छैन । २५ भन्दा बढी गीतमा काम गरेँ होला’ छायाँकनस्थलबाटै कुरा गर्दै अञ्जलीले भनिन्–‘अझै केही गीतको सेड्यूल छ । केही गीतहरु थपिँदै पनि छन् ।’ ‘कोरोना महामारी नभएको भए त तीजको समयमा मेरो व्यस्तता अझै बढी हुन्थ्यो, अञ्जलीले भनिन्–‘तीन–चार वर्ष अगाडि मैले एक बर्षमा ८५ वटासम्म तीज गीतमा काम गरेकी थिएँ ।’ गतवर्ष भने तीज गीतमा काम केही कम भएको उनले बताइन् ।

मोडल करिष्माले यसवर्ष झण्डै ४० वटा तीज गीतमा काम गरिसकेकी छिन् । उनीसँग पनि आधा दर्जन बढी काम गर्नुपर्ने तीज गीतको सेड्यूल छ ।

उनले भनिन्–‘हिजोआज हरेक दिन सुटिङमै ब्यस्त छु । अझै ५–७ वटा तीज गीतमा काम गर्ने सेड्यूल छ ।’ यसवर्ष आफूले ५० वटा तीज गीतमा काम गर्ने करिष्माको भनाई छ । गतवर्ष भने उनले एक दर्जन तीज गीतमा काम गरेकी थिइन् ।

‘गतवर्ष वाग्लुङ थिएँ । त्यसैले तीज गीतको भिडियोमा धेरै दिन काम गर्न पाइनँ । त्यसमाथि कोरोनाको त्रासले गर्दा आफू सुरक्षित हुनका लागि पनि बढी ध्यान दिएको थिएँ’ – उनले भनिन् ।यसवर्ष एकै दिनमा ३ वटासम्म तीज गीतको छायांकन गरेको अनुभव करिष्मासँग छ । कोरोना महामारीअघि भने उनले कुनै वर्ष ८० वटासम्म तीज गीतमा काम गरेको अनुभव संगालेकी छिन् ।

तीज गीतमा व्यस्त हुने पुरुष मोडलमा यसवर्ष लोमश शर्मा अग्रपंक्तिमा छन् । गतवर्ष सार्वजनिक ‘सोचेझै जिन्दगी रैनछ’ बोलको तीज गीतमा अभिनय गरेपछि उनको ब्यस्तता ह्वात्तै बढेको हो । यसवर्ष आफूले डेढ दर्जन बढी तीज गीतमा काम गरिसकेको लोमशले अनलाईनखबरलाई बताए । काम गर्नका लागि अझै आधा दर्जन बढी तीज गीतको सेड्यूल रहेको लोमशको भनाई छ । उनले भने–‘यसवर्ष राम्रो काम भैरहेको छ । नियमितजसो तीज गीतमा काम गरिरहेको छु । यसवर्ष ३० वटाजति पुग्छ होला ।’

लोभलाग्दो कमाई
‘तीज गीतमा नाचेर कति कमाउनुहुन्छ ?’ मोडल करिष्माले आफूले तीज गीतमा काम गरेर १० लाख रुपैयाँ बढी आम्दानी गर्दै आएको बताउँछिन् । उनले तीज गीतमा आफूले लिने पारिश्रमिक भने खुलाउन चाहिनन् । म्युजिक भिडियो निर्देशकहरुका अनुसार करिष्माले एउटा तीज गीतमा अभिनय गरेको २० देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिँदै आएकी छिन् ।

अञ्जली अधिकारी तीज गीतमा काम गरेर हुने कमाई ठ्याक्कै यति भनेर भन्न नसक्ने बताउँछिन् । ‘आम्दानी राम्रै हुन्छ । त्यो अनुसार खर्च पनि धेरै भईरहेको हुन्छ’ उनले भनिन् । उनले एउटा तीज गीतमा अभिनय गरेको २० देखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक माग गर्ने गरेको निर्देशकहरु बताउँछन् । सो अनुसार उनले पनि तीज गीतमा अभिनय गरेर १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् ।

पछिल्लो समय चम्किएका मोडल लोमश शर्मा तीज गीतबाट राम्रो आम्दानी हुँदै आएको बताउँछन् । निर्देशकहरुका अनुसार उनले एउटा तीज गीतमा काम गरेको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक माग गर्ने गर्दछन् । मोडलहरु गायक–गायिका एवं निर्देशकसँगको सम्बन्धका आधारमा सो भन्दा कम पारिश्रमिकमा पनि काम गर्न तयार हुने जानकारहरु बताउँछन् । (अनलाइनखबर)

Translate »