कस्तो हुँदैछ करिश्माको प्लस टू परीक्षा ?

करिश्माको परीक्षा अनुभव

काठमाडौँ: अभिनेत्री करिश्मा मानन्धर यतिबेला कक्षा १२ को परीक्षा दिइरहेकी छन् । फिल्मको व्यस्तताका बीच उनी परीक्षाको तयारीमा जुटेकी छन् । अन्नपूर्ण पोस्टसँगको कुराकानीमा उनले पछिल्लो समय फिल्मका काम नै रोकेर परीक्षाको तयारीमा जुटेको बताइन् । यद्यपि पढाइ र परीक्षा औसत रुपमा नै चलिरहेको बताउँछिन् करिश्मा । करिश्मासँग उनको पठनशैली, परीक्षाको तयारी र भावी योजना लगायत विषयमा गरिएको टेलिफोन कुराकानी:

परीक्षा कस्तो भइरहेको छ ?

-राम्रो भइरहेको छ । पढेका कुराहरु आइरहेका छन् । जेहोस् परीक्षा सन्तोषजनक छ ।

परीक्षाको लागि समय कसरी मिलाइरहनुभएको छ?

– यसबीचमा सुटिङका कामहरु रोकिदिएकी छु । आफू आर्टि्ट भएकाले अलि अलि त ध्यान दिनु नै पर्ने हुन्छ ।

महामारीका कारण परीक्षाको दुविधाले कस्तो असर पुर्‍यायो ?

– म अन्य विद्यार्थी जस्तो होइन । जसले गर्दा मलाई त्यस्तो धेरै असर भएन । त्यो समयमा बरु काममा फोकस गरेँ । सुटिङतिरतिर व्यस्त भएँ ।

पढ्नका लागि कुन समय उपयुक्त लाग्छ ?

– म दिउँसोको समयमा पढिरहेकी हुन्छु । रातिमा त म ८ बजे नै सुत्छु ।

कुन विषय पढ्न सजिलो लाग्छ ?

– मलाई सबै विषय ठीकै लाग्छ । अलिकति म्याथ (गणित) विषय अरु भन्दा असजिलो लाग्छ । अरु विषयमा त त्यति गाह्रो लाग्दैन ।

तपाईँ अहिले कुन विषय लिएर पढ्नुभएको हो ? कहिले सकिन्छ परीक्षा ?

– मैले अहिले मेजर इंग्लिस लिएर पढेकी छु । परीक्षा असोज ८ गते सकिन्छ ।

पढेको कुरा कत्तिको सम्झनुहुन्छ ?

– खासै घोकेर पढिँदैन । पढेका कुराहरु त सम्झिनै रहन्छु । महामारीको कारण कलेज छुटेकाले लेख्न अलि असहज चाहिँ भयो । दिनदिनै पढिरहेको नभएकोले एक दिन पढ्ने अर्को दिन परीक्षा दिँदा अलि सम्झन असहज त हुन्छ नै । मेरो विषय भनेको नै समाजसँग जोडिएको र आफुले पनि देखिरहेको, बुझिरहेको हुनाले सजिलो नै हुन्छ ।

भविष्यमा कुन विषय लिएर पढ्ने मन छ ?

– आफ्नो इच्छाको कारण पढेकोले खासै त्यस्तो योजना त बनाएको छैन । मैले जागिरको लागि पढेको होइन । तर पनि यदी थप पढियो भने कृषि विषय पढ्ने मन छ ।

अन्य परीक्षार्थीहरुलाई परीक्षा तयारीका लागि के सुझाव दिनुहुन्छ ?

– रातैभर पढ्दा पनि नसम्झिने हुनसक्छ । त्यसैले निन्द्रा चाहिँ पुर्‍याउनुपर्छ हामीले । निन्द्रा पुग्यो भने पढेको कुरालाई राम्रोसँग लेख्न पनि सकिने रहेछ । (अन्नपूर्ण पोस्ट)

Translate »