कर्णाली र सुदूरमा अवरुद्ध हवाई उडान सुचारु


सुर्खेत । चौतर्फी आलोचना तथा जनगुनासोपछि कर्णाली र सुदूर पश्चिम प्रदेशका विभिन्न विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । हवाई उडान अवरुद्ध हुँदा कर्णाली प्रदेशमा ४ जनाले ज्यान गुमाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा १२ बजेपछि निश्चित मापदण्ड पालन गरेर उडान अनुमति दिएको हो ।
दुर्गम हिमाली जिल्ला हुम्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकले ज्यान गुमाएका थिए । हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान पहाडी र हिमाली जिल्लामा समस्या बढेको भन्दै प्राधिकरणको निर्णयको बिरोध भएको थियो । निर्णय सच्याउन माग भइरहदा प्राधिकरणले शर्तसहित खुला गर्ने निर्णय गरेको हो।
प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित छोटो उडान र अवतरण हुने (एसटीओएल) विमानस्थलहरुमा उडानका लागि शर्तसहित खुला गरेको छ । दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन हुँदा आम नागरिकले राहत महसुस गरेका छन् ।

पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो ।
‘विमानस्थलको अब्जेक्सन आवर’ बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, कर्णाली र सुदूरका सबै विमानस्थल मध्ये जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सबैको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो ।
त्यसैले ‘जुम्ला’ विमानस्थल बाहेक कर्णली र सुदू्रपश्चिममा सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणले यो अवधिमा मात्रै उडान जोखिममुक्त हुने भएकाले वर्षायाममा विमानस्थलले आफ्नो ‘अब्जेक्सन आवर’ भित्र मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो ।
जनगुनासो तथा पहाडी र हिमाली जिल्लाका नागरिकको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले फेरि मौसम अनुकूल भए बिहाज ६ बजेदेखि साँझ ६ बजेसम्म उडान भर्न पाउने निर्णय गरेको हो । कर्णाली र सुदूर पश्चिम प्रदेशमा नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले उडान भर्दै आएका छन् ।

