हवाईयात्रा भरपर्दो र नियमित बनाऊँ !
कर्णाली प्रदेशका नागरिकको जीवनस्तर अन्यको भन्दा कमजोर छ । शिक्षा, स्वास्थ्य र भौतिक विकासमा पछाडि परेको कर्णालीमा राज्यका तर्फमा हुने उपस्थिति पनि कमजोर नै छ । अहिलेपनि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका जिल्लाहरु कर्णालीमै छन् । यहाँका हिमाली जिल्लामा आवात जावतको मुख्य साधन हवाई मार्ग नै हो । उसो त भनिन्छ,’ ‘धनी मानिसहरु मात्र (प्लेन) हवाई यात्रा गर्छन्,’ तर, कर्णालीका गरिव नागरिकलाई भने हवाई यात्रा गर्नुको विकल्प छैन् ।’ यहाँका हिमाली जिल्लामा विडम्बना नै भन्नु पर्छ हवाई यातायातको अर्को विकल्प छैन् । सडक सञ्जाल पुगेका जिल्लामा समेत वर्षात ताका गाडीमा जानु भन्दा हवाई जहाजमै उड्न सहज हुन्छ । किनभने अबैज्ञानिक र जीर्ण कर्णालीका सडकहरु वर्षातमा त झनै जोखिममा हुन्छन् । निकै कमजोर र जीर्ण सडकमा गाडी गुडाउन नै जोखिममा पर्नु हो । प्रायः कर्णालीको सडक यात्रा असुरक्षित नै हुन्छ । थाहा हुँदाहुँदैपनि विकल्पको अभावमा गरिब नागरिकले यात्रा गर्नुपर्दा कतिबेला कहाँ दुर्घटना घट्ने हो त्यो कसैपनि थाहा हुँदैन् । पहाडी भेगमा प्रायः थोत्रा गाडी र जीर्ण सडकहरुमा यात्रुलाई डर्दै र काम्दै गन्तव्यलाई पार गर्नुपर्ने बाध्यता छ ।
वर्षातमा प्राय मौसम खराब हुँदा सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडानमा ठप्प हुन्छन् । त्यहीं माथि बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले गत साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको थियो । हवाई मार्ग रोकिएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने पर्ने यात्रु मर्कामा परेका थिए । विकासका विभिन्न पूर्वाधारबाट नेपालकै पछाडि पारिएको कर्णालीका हिमाली जिल्लामा हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तुमा समेत समस्या उत्पन्न भएको थियो । तर, चौतर्फी आलोचना तथा जनगुनासोपछि कर्णाली र सुदूर पश्चिम प्रदेशका विभिन्न विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छ । यद्यपि ! नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा १२ बजेपछि निश्चित मापदण्ड पालन गरेर उडान अनुमति दिएको हो । नागरिक तथा राजनीतिक स्तरबाट निर्णय सच्याउन माग भइरहदा प्राधिकरणले शर्तसहित खुला गर्ने निर्णयले कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई केही हदसम्म राहत मिलेको छ । वर्षातको समयमा बिहान पख कुहिरो लाग्ने र मौसम सफा नहुने भएकाले दिउँसो १२ बजे पछि मात्र मौसम सफा हुने हुने हुनाले प्राधिकरणको निर्णय हिमाली जिल्लाको लागि उपयुक्त थिएन् ।
मौसममा केही सुधार आउनुको साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व निर्धारित निर्णय लाई फेरबदल गरी अतिरिक्त समयमा पनि उडान भर्न पाउने निर्णय गरेपछि शुक्रवारदेखि नियमित उठान शुरु भएका हुन् । दुर्गम हिमाली जिल्ला हुम्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकले ज्यान गुमाएका समाचारहरु आएका थिए । हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान पहाडी र हिमाली जिल्लाका नागरिकलाई धेरै सास्ती भएको थियो । ‘जुम्ला’ विमानस्थल बाहेक कर्णली र सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणले वर्षायाममा उडान जोखिममुक्त हुने भएकाले विमानस्थलले आफ्नो ‘अब्जेक्सन आवर’ भित्र मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो । जनगुनासो तथा पहाडी र हिमाली जिल्लाका नागरिकको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले फेरि मौसम अनुकूल भए बिहाज ६ बजेदेखि साँझ ६ बजेसम्म उडान भर्न पाउने निर्णय स्वागतयोग्य कदम हो । कर्णाली र सुदूर पश्चिम प्रदेशमा नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले उडान भर्दै आएका छन् । यद्यपि यि क्षेत्रमा अहिले पनि महँगो भाडामा यात्रुलाई हवाई यात्रा गर्नुपर्ने बाध्यता कायमै छ । अझैपनि सरकारले कर्णालीमा भएका विमानस्थलहरुको स्तरोन्नती गरि हवाई सेवालाई नियमित र भर्दोपर्दो बनाउन तर्फ विशेष भूमिका खेल्न आवश्यक देखिन्छ ।