नेपालगन्ज उपमहानगरपालिका भित्रको सुर्खेत रोडको अतिक्रमण हटाउन डोजर चलाइने
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका र सडक डिभिजनले संयुक्त रूपमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रको सुर्खेत रोड अतिक्रमण क्षेत्र खाली गर्ने अभियान अन्तर्गत मार्किङको काम सकेको छ ।
उपमहानगरपालिकाले एक साताभित्र आफैँ सडक क्षेत्रफल तोकेर अतिक्रमित क्षेत्र खाली गर्न घरधनीका नाममा सूचना जारी गरेको थियो ।
उपमहानगरपालिका र सडक डिभिजनले सूचना जारी गरेपछि सडक क्षेत्र मार्किङ सुरु गरेको थियो । सडक क्षेत्र मार्किङ गरिए पनि कसैले स्वतःस्फूर्त सडक क्षेत्र भने खाली गरेका छैनन् । सडक क्षेत्र मार्किङ भने यो पहिलो पटक होइन । सडक विभागले २०७८ मै सडक क्षेत्र मार्किङ गरे पनि असहयोगका कारण सडक क्षेत्र खाली गराउन सकेको थिएन ।
यस पटक उपमहानगरपालिकाले पनि सडक ऐन अनुसार अतिक्रमित क्षेत्र खाली गर्न चासो देखाएको छ । त्यसका लागि समय सीमा तोकेर सडक क्षेत्रफल छुट्याइएको छ ।
‘नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पर्ने सुर्खेत रोडमा सडक ऐन अनुसार मार्किङको कार्य सकिएको छ’, नेपालगन्ज उपमहानगरपालिकाका सर्वेक्षक पवन अर्यालले भने । मार्किङपछि घरधनीहरू आफूले कति संरचना हटाउनु पर्ने हो भन्नेमा स्पष्ट भएका छन् ।
‘१० मिटरसम्म अतिक्रमित संरचना हटाउनु पर्नेछ’, उनले भने, ‘बढी समस्या जमुनादेखि गणेशमान चोकसम्म छ ।’ यसअघि मार्किङका क्रममा धम्बोझी चोकमा सडकको बीच भाग सम्बन्धी विवाद भएको थियो । थोरै ठाउँमा रहेको उक्त विवाद अतिक्रमण हटाउने क्रममा नै समाधान गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
अतिक्रमित संरचना हटाउन नेपालगन्ज उपमहानगरपालिकाले डोजर चलाउने बताएको छ । (रेडियो नेपाल)