सुर्खेतमा बढ्दै काठ चोरी तस्करी


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत सदरमुकाम आसपासका वन क्षेत्रमा पछिल्लो समय चोरी तस्करी बढेको छ । सदरमुकाम वीरेन्द्रनगरको प्रवेशद्वारा सुब्बाकुना चेकपोष्टसँग सटेको शिवशक्ती सामुदायिक वन र भेरी सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा व्यापक चोरी तस्करी बढेको हो ।
यी क्षेत्रमा लामो समयदेखि चोरीतस्करी गर्दै आईरहेका तस्करले हरिया रुख त छोडेनन् नै घाटगद्दी गरिएका काठ समेत चोरी गर्न थालेका छन् । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाईन विस्तारका लागि शिवशक्ती सामुदायिक वन उपभोक्ता समितिको सुब्बाकुनामा घाटगद्दी गरिएको ४९ क्यूफिट काठ चोरी गरी स्थानीय फर्निचर उद्योगहरुलाई विक्री गरिएको पाईएको छ ।
शिवशक्ती सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले आफ्नो घाटगद्दी गरिएको काठ चोरी भएपछि आफैले सुराकी परिचालन गरि डिभिजन वन कार्यालयको सहयोगमा ४९ क्यूफिट काठसहित अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।

बरामद काठसहित पक्राउ परेका माथि अहिले डिभिजन वन कार्यालयले कानूनी कार्वाहीका लागि आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ । केही समयअघिसम्म मोडिफाई साइकल र मोटरसाइकलमा चोरी तस्करी गर्ने समूहले अहिले चोरीको तरिकासमेत बद्लेको छ । तस्कर समूहले गोलिया काठ टेम्पु, जीप र टेक्ट्रमा चोरी तस्करी गर्ने गरेका छन् ।
वर्षातमा सुरक्षाकर्मीको चहलपहल कम भएको मौका पारी सालका रुखको तस्करी अझै बढेको स्थानीय बताउँछन् । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले सामुदायिक वनका पदाधिकारी र सुरक्षाकर्मीलाई झुक्काएर तस्करले काठ चोरीतस्करी गरेको पाइए पनि बरामद गर्न आफूहरु सफल भएको दाबी गरे । उनले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले तस्कर फेला पारेर जानकारी गराएपछि आफ्नो कार्यालयबाट खटिएको गोस्ती टोलीले पक्राउ गरी अनुसन्धान गरेर कार्वाहीको दायरा भित्र ल्याउने गरेको जानकारी दिए ।

‘डिभिजन वन कार्यालय सुर्खेत अन्तर्गत २ सय ७३ वटा सामुदायिक वन रहेकाले सबै क्षेत्रमा दिनहुँ गस्ती तथा अनुगमन गर्न असमर्थ छौं,’ उनले भने, ‘वनको रक्षा गर्ने पहिलो दायित्व सामुदायिक वनका पदाधिकारीको हो । उहाँहरुले काठ तस्करलाई आफ्नो विद्यान अनुसार कार्वाही गर्न सक्नु भएन भने मात्र हाम्रो डिभिजन वन कार्यालयले आवश्यक एक्शन लिन्छ ।’
उनले सामुदायिक वन समितिमा हुने गैरकानूनी कार्य नियन्त्रमा सिधै डिभिजन वनले हस्तक्षेप गर्न उपयुक्त नहुँने हुँदा सम्बन्धित वन समितिले सहयोग मागेपछि मात्र आफुहरुले कार्वाही अगाडि बढाउने गरेको बताए ।
महिला पदाधिकारीहरुको बाहुल्यता रहेको वीरेन्द्रनगरको शिवशक्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मिना आचार्यले सुब्बाकुना चेकपोष्टदेखि महज सय मिटर अगाडि घाटगद्दी गरिएको काठ तस्करले चोरी गर्दा प्रहरीले नदेख्नु शंकास्पद भएको बताईन् ।


उनले दिउँसै टेम्पु र जीपलाई (सोधपुछ) केरकार गर्ने प्रहरीले रातको समयमा ३ वटा टेम्पु र एउटा जीपमा गोलिया काठ लादेर लिने तस्करलाई चेकजाँच (केरकार) नगर्नु मिलेमतो रहेको आरोप लगाईन् । शिवशक्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव कमला चौधरीले सवारी चेकजाँच गर्ने प्रहरीको चेकपोष्ट अगाडि घाटगद्दी गरिएको काठ चोरी तस्करी हुनुमा प्रहरीको संलग्नता विना सम्भवनै नरहेको दावी गरिन् ।
उनले सुरक्षाकर्मीको मिलेमतोमा चोरीतस्करी गरिएका अबैध काठ वीरेन्द्रनगरकै (आरा) चिरान मिलमा बिक्री वितरण हुने गरेको पाईएको जनाईन् । यद्यपि ! शिवशक्ती सामुदायिक वनमा घाटगद्दी गरिएको काठको देखरेखका लागि चौकीदार राखिएपनि उनको डियूटी दिनमा मात्र हुने गरेको बताईएको छ ।

यता सुब्बाकुना प्रहरी चेकपोष्टका ईन्चार्ज (प्रहरी सहायक निरीक्षक) पदम बलायरले घाटगद्दी गरिएको काठ चोरीमा प्रहरी माथि अंगुली उठेपछि आफ्नो स्तरबाट ड्यिूटीमा खटेका माथि अनुसन्धान शुरु गरेको जानकारी दिए । वन क्षेत्रमा पछिल्लो समय चोरी तस्करी हुने गरेको खबर पाएपनि डिभिजन वन कार्यालयको भूमिका प्रभावकारी हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् ।
काठ चोरी तस्करीमा पक्राउ परेकालाई राजनीतिक दलका नेताहरुले नै छुटाउन दबाब दिने गरेकाले पनि तस्करी नरोकिएको कर्मचारीको भनाइ छ । स्वतन्त्र रुपमा काम गर्न नपाउँदा आफूहरुलाई वन जोगाउन हम्मेहम्मे परेको डिभिजन वन कार्यालयका एक जना सुरक्षाकर्मीले बताए ।

वन कर्मचारीकै मिलेमतोमा चोरी तस्करी बढेको स्थानीयवासीको आरोप छ । तर, आवश्यक कर्मचारी नहुँदा चोरी तस्करी बढेको वन कर्मचारी बताउँछन् ।
डिभिजन वन कार्यालयका फरेष्टर ईच्छाबहादुर भण्डारीले चालु आर्थिक वर्षको पछिल्लो ३८ दिनमा मात्र विभिन्न चोरी तस्करीमा १०१ क्यूफिट काठसहित दुई जना माथि मुद्धा चलाईएको र थप ७ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।
उनले गत आर्थिक वर्षमा २५७ दशमलव २७ क्यूफित अबैध काठसहित २८ जना माथि मुद्दा चलाईएको र थप ४ वटा मुद्दा सुर्खेत जिल्ला अदालतमा विचारधिन अवस्थामा रहेको बताए ।


