रोकिएन् काठ तस्कारी
पछिल्लो समय सुर्खेतमा अवैध रुपमा काठ तस्करीका घटनाहरु बढिरहेका छन् । डिभिजन वन कार्यालयहरुले काठको सहज आपूर्ति व्यवस्था मिलाउन नसक्दा अवैध काठ तस्करी बढेको हो । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा दैनिक घर निर्माण र तिनका लागि चाहिने आवश्यक काठ सहज आपूर्ति नहुँदा दिनप्रतिदिन चोरी तस्करीबाट अबैध धन्दाको कारोबार मौलाईरहेको छ । अबैध काठ चोरी तस्करीमा बेरोजगार मात्र होइन, लागु औषध सेवनकर्ता र काठ व्यवसायी समेत चोरी तस्करीमा संलग्न हुने गरेका प्रमाणहरु फेला परेका छन् । सुर्खेतका प्रायः आरा मिल (चिरान) मा केही न केही मात्रामा चोरीतस्करीका काठ पाईने गरेको छ । सरकारले नियम संगत रुपमा काठ आपूर्ति व्यवस्थापन गर्न नसक्नु, काठ निकासीमा रोक कडाई गर्नु, काठको मापनमा नयाँ–नयाँ नियमको प्रयोग गर्नु, वन जंगल संरक्षणका लागि सरकारी नीति स्पष्ट नहुनु र वन कर्मचारीको मनोवल कमजोर हुनुलगायतले अवैध चोरी तस्करीका घटनाहरु मौलाई रहेका हुन् । अहिले बजार क्षेत्रमा महँगो काठ भएकै कारणले अवैध चोरी तस्करीलाई बल पुगेको छ । विभिन्न ठाउँमा प्रहरीले आफ्नो निगरानी बढाएपनि काठ तस्करी रोकथाममा प्रभावकारी देखिएको छैन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी, गुर्भाकोट नगरपालिकासँगै पश्चिमको बराहताल र चौकुने गाउँपालिकामा अबैध काठको चोरी तस्करी बढेको छ । आन्तरिक खपतका लागि काठको सहज आपूर्ति नहुँदा महँगोमा मलेसियन काठ खरिद गर्न उपभोक्ता बाध्य छन् ।
गुणस्तरीय भरपर्दो स्थानीय सालको काठको आपूर्ति हुन नसक्दा व्यापारीले भारत हुँदै मलेसियन काठ बजारमा ल्याएर विक्री गरिरहेका छन् । महँगो भएपनि उपभोक्ता विदेशी काठ खरिद गर्न बाध्य छन् । काठ पर्याप्त मात्रामा पाइने सुर्खेतमा हिजो आज मलेसियन काठ ठूलो मात्रामा भित्रिरहेको छ । चैत्र यता मात्रै सुर्खैतमा ८ देखि १० करोड सम्मको मलेसियन काठ भित्रिएको अनुमान छ । वन कर्मचारीहरुले बनाएको झंझटिलो कानूनी प्रक्रियाका कारण सुर्खेतमा ५० हजार क्यूफिट बराबरको काठ जंगलमै कुहिँने अवस्थामा पुगेको छ । त्यति मात्र होइन, सुर्खेतमा पछिल्लो समय वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी समेत हुने गरेको छ । सामुदायिक वन उपभोक्ता समितिले कानूनी कार्वाहीका लागि एकै दिन दुई स्थानबाट भारी मात्र अबैध काठ बरामद गरि कानूनी कार्वाही अगाडी बढाई दिन आग्रह गरेपछि वन कार्यालयले नै आवश्यक खानापुर्ती पुरा गरेको हो । वन उपभोक्ता समितिका पदाधिकारीहरुले आफैले अनुसन्धान गरी अबैध चोरीको काठ वरामद गरेर कानूनी अधिकार पाएको डिभिजन वन कार्यालयका कर्मचारीलाई कार्वाही गर्न अनुरोध गरेपछि तीन जनालाई काठसहित रंगेहात पक्राउ गरि आवश्यक कानूनी कार्वाही अगाडी बढाईएको छ । वन कार्यालयले केही दिन पहिले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा वीरेन्द्रनगर नगरपालिका–११ नम्वरको पदमपुर एवं १२ नम्वर वडाको देउती बज्यै मन्दिर नजिकका फर्निचर उद्योगबाट अबैध काठ बरामद गरी उद्योग नै सिल गरेर तीन जनालाई कानूनी कार्वाही अगाडि बढाएको हो ।
कानूनीरुपमा बैध काठ पाउन छोडेपछि काठ तस्कर र डिभिजन वनका कर्मचारीको मिलेमितोमा जिल्लाव्यापी अबैध काठको कारोबार बढेको छ । विगत ३ वर्षदेखि डिभिजन वन कार्यालयले उपभोक्तालाई कानूनी तवरले बैध काठ उपलब्ध गराउन छोडेपछि अबैध चोरी तस्करी झन बढेको हो । सुर्खेतमा काठ चोर र काठ रक्षक सिपाही वीचको मिलेमतोले आम उपभोक्तालाई चिन्ता बढाएको छ । वनका कर्मचारीहरुसँगको मिलेमतोमा अबैध काठ तस्करीको आरोपमा फर्निचर व्यवसाय पक्राउ पर्नुले कनेक्सनको जालो चौतर्फी बढेको सहजै बुझ्न सकिन्छ । अबैध काठ चोरी तस्करी नियन्त्रणमा सामुदायिक वन उपभोक्ता समिति, डिभिजन वन कार्यालय र प्रहरीको भूमिका प्रभावहिन देखिएको छ । वन कार्यालयको भूमिका प्रभावहिन भएकै कारणले काठ तस्कारले वनका हरिया रुख मात्र होइन, घाटगद्दी गरिएको काठ समेत चोरी तस्करी गर्न थालेका हुन् । आम उपभोक्तालाई सहज काठको आपूर्ति व्यवस्था मिलाउन नसक्ने गैरजिम्मेवार डिभिजन वन कार्यालय र वनका कर्मचारी माथि गहन अनुसन्धान शुरु गरि काठको अबैध चोरी तस्करी नियन्त्रणमा सबै पक्षको ध्यान पुग्न जरुरी देखिन्छ ।