सुत्केरी भैँसीलाई स्याहार खर्च

रुकुम पश्चिम । अहिलेसम्म सुत्केरी महिलाहरूलाई सुत्केरी स्याहार खर्च दिने गरेको त सुन्नुभएको होला । तर सुत्केरी भैँसीलाई समेत स्याहार खर्च वितरण गर्ने कुरा सुन्दा अचम्म मान्नुहुन्छ होला । तर रुकुम पश्चिमको एक वडा कार्यालयले वडामा भैँसीलाई समेत सुत्केरी स्याहार गर्न प्रदान गरिरहेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ ले ३३ जना किसानलाई सुत्केरी भैँसी स्याहार खर्च प्रदान गर्दै आएको छ । भैँसी स्याहार कार्यक्रम अन्तर्गत वडामा सूचीकृत ३३ जना भैँसी पालक किसानलाई ३ हजारका दरले रकम वितरण गरिएको वडाध्यक्ष समिरजङ मल्लले जानकारी दिए ।

गत आर्थिक वर्षको सुत्केरी भैँसी स्याहार कार्यक्रम अन्तर्गतको १ लाख बजेटबाट किसानलाई रकम वितरण गरिएको वडाध्यक्ष मल्लको भनाई छ । वडाका भैँसी पालक किसानहरूलाई थप व्यावसायिक बनाउने र आर्थिक उपार्जनमा वृद्धि गर्ने उद्देश्यले सुत्केरी भैँसी स्याहार कार्यक्रम बनाइएको मल्लले जनाए । भैँसीलाई समेत स्याहार खर्च पाएपछि किसानहरू खुसि भएका छन् ।

Translate »