२०८३ असार २४ , बुधबार
Sky News Nepal
२०८३ असार २४ , बुधबार

विपन्न परिवारलाई महिनामा पाँच किलो नुन



काँक्रेविहार । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निः शुल्क रुपमा दिने भएको छ ।

गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येकमहिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ ।

नागरिकताको आधारमा पाँच पोका नुन लिन विपन्न समुदायहरु गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैंका लागि समाधान हुने छ ।

नगरपालिकाभित्र बाँझो जमिनलाई खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ । अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगरप्रमुख भामले बताए । सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासीका काम भइरहेको उनले बताए । ‘हामीले आफैलाइ गरिब सोचेर समस्या भयो,’ नगरप्रमुख भामले भने, ‘कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाटबजारको व्यवस्था गरेका छौं । बधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ ।’

कृषकलाई बीउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ । अन्नपूर्ण पोष्ट/रासस

प्रकाशित मिति : २०८० चैत ३० गते शुक्रबार
Translate »