सामाजिक विकास कार्यालय मुगुको बेरुजु शून्य

मुगु । सामाजिक विकास कार्यालय  मुगुको बेरुजु शून्य देखिएको छ । आर्थिक बर्ष २०८०/ ०८१ को वार्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा बेरुजु शून्य देखिएको सामाजिक विकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले बताए ।

जिल्ला समन्वय समितिमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले सामाजिक विकास कार्यालयबाट बर्ष भरि सम्पादन गरिएका कामहरू अनुकरणीय भएको जनाए । उनका अनुसार सोमवार प्रस्तुत गरिएका कार्यालयका वार्षिक कामहरू प्रशंसनीय भएको धारणा राखें ।

नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर शाहीले अन्य कार्यालयमा आजका मिति सम्म भुक्तानीकै प्रक्रियामा रहेको भएपनि सामाजिक विकास कार्यालयले समयमै वार्षिक कामहरू सम्पन्न गरि कार्यक्रमसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूका वीच समीक्षा कार्यक्रमको आयोजना गरी पारदर्शिता र जबाफदेहिताको नमुना प्रदर्शन गरेको धारणा ब्यक्त गरे ।


प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सामाजिक विकास कार्यालयको बेरुजु शून्य हुनु भनेको विकासका काममा राम्रो प्रगति भएको बताए । उनका अनुसार सामाजिक बिकास कार्यालय प्रमुखको कार्य दक्षता कुशलताले प्रगति छिटो छरितो र चुस्त दुरुस्त र अनुकरणीय भएको धारणा ब्यक्त गरे ।

जिल्ला समन्वय समितिका संयोजक मंजनबहादुर कार्कीले आर्थिक वर्षको अन्तमा कार्यालयको तर्फबाट जिल्लाभरि भएमा कामहरू समयमै सकेर समीक्षा कार्यक्रमको आयोजना गरेकोमा कार्यालय प्रमुख र टिमको मुक्त कण्ठले प्रशंसा गरे ।

सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले आफ्नो कार्यालयको तर्फबाट वार्षिक स्वीकृत कार्यक्रमको प्रगति प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यक्रम अनुसार छात्रवृत्ति, तालिम, विद्यालय भवन निर्माण, अनुगमन, खेलकुद, महिला, ज्येष्ठ नागरिक, दलित लक्षित लगायतका क्षेत्रमा बजेट खर्च गरिएको थियो ।

Translate »