२०८३ कात्तिक २ , आइतबार
Sky News Nepal
October 19, 2026

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८ सयभन्दा बढी पक्राउ



पेरिस । फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दा बढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन् ।
प्रदर्शनका क्रममा त्यहाँ प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठुला प्रदर्शनका क्रममायी घटना भएका हुन् । यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए ।

तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए । गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरुमा भएको व्यापक लुटपाटका लागि ‘हजारौं अति–वामपन्थी’ व्यक्तिहरु जिम्मेवार रहेको आरोप लगाए । उनका अनुसार प्रदर्शनका क्रममा सम्पत्तिमा ठुलो क्षति पुगेको छ । विशेष गरी सयौं पसल सञ्चालक प्रभावित भएका छन् ।

प्रदर्शनका क्रममा करिब ५०० प्रहरी, अग्नि नियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि नुनेजले जानकारी दिए । घाइतेको सङ्ख्या अझै परिवर्तन हुनसक्ने उनले बताए । फ्रान्समा अराजकता र हिंसा फैलाउन खोज्नेहरुका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै नुनेजले कानुन विपरीतका गतिविधिमा संलग्न व्यक्तिहरुमाथि कारबाही गरिने सङ्केत गरेका थिए । रासस÷एएफपी

प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार
Translate »