चीन जोड्ने सडक निर्माणमा बजेट अभाव


सुर्खेत । कर्णालीलाई चीनसँग जोड्ने सडक निर्माणमा बजेट अभाव भएको छ । सरकारले गमगढी–नाक्चेनाग्ला सडक निर्माण मार्फत कर्णालीलाई चीनसँग जोड्न शुरु गरेपनि पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण ढिलाई भईरहेको हो ।
यस वर्ष नाग्मा–गमगढी सडकको स्तरोन्नतिका लागि ४ करोड छुट्याइए पनि नाग्चेनाग्लातर्फ नयाँ ट्¥याक खोल्न बजेट नआएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले बताए । इन्जिनियर चौधरीका अनुसार ८० करोड रुपैयाँ लागत अनुमान गरिएको सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको छ ।
कर्णालीको मुगुबाट चीन जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हो । गमगढीबाट ६८ किमि दूरीको यो सडकमा अहिलेसम्म १६ किमि (मुगमकार्मारोङ गाउँपालिकाको छाइलसम्म) मात्र ट्¥याक खोलिएको छ । २०६२ फागुनदेखि सडक निर्माण सुरु गरिएको थियो ।
मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले सन् १९१५ देखि सीमा मुगुगाउँका आदिवासी जनजाति र तिब्बतीबीच व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा उक्त व्यावसायिक सम्बन्ध वैध बन्न नसकेको बताए । सडक सुविधा नहुँदा मुगमकार्मारोङको किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस र पुवागाउँका स्थानीय मोटर चढ्न पनि कम्तीमा दुई दिन पैदल हिँड्नुपर्ने किम्रीका धनारगोल्बु लामाले जनाए ।
उनका अनुसार सडक नहुँदा गाउँको आलु, स्याउ, उवालगायत कृषि उत्पादन खेर गईरहेका छन् । यता भेरी करिडोरको डोल्पाको दुनै–लसिक्याप–सिसौल–धो–तिन्जे हुँदै मरिम्ला जोड्ने सडकमा समेत बजेट अभावले लामो समयदेखि काम अलपत्र छ । सडक नबन्दा दैनिक उपभोग्य वस्तुका लागि डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोड, सेफोक्सुन्डो र मुगुको मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् ।
सडक निर्माणमा ढिलाइ हुँदा खाद्यान्न र अन्य सामान लिन हिँडेर सदरमुकाम दुनै जानुपरेको छार्काताङसोङ–१, का पाल्जोर तामाङले बताए । जिल्ला सदरमुकाम गएर चामल ल्याउन कम्तीमा चार दिन लाग्छ भने चीन सीमा पुग्न र फर्कन एक दिन मात्र लाग्ने गरेको तामाङले जनाए ।

संघीय सरकारले भेरी करिडोरअन्तर्गत जाजरकोट–दुनै सडकमा यस वर्ष १ अर्ब ४ करोड रुपैयाँ छुट्याइएकोमा बजेट कटौती भएपछि ५६ करोडको मात्र अख्तियारी आएको छ । उक्त रकमले तल्लुदेखि त्रिपुराकोटसम्म स्तरोन्नति हुने भेरी करिडोर आयोजना कार्यालयले जनाएको छ ।
भेरी करिडोरका सिनियर डिभिजनल इन्जिनियर सुनिल रञ्जितकारले ट्¥याक खुलेपछि बजेट आएपनि नयाँ ट्¥याक खोल्न तीन वर्षयता बजेट नै नआएको बताए । उनका अनुसार करिडोरअन्तर्गत डोल्पा सदरमुकाम दुनैदेखि काइके गाउँपालिकाको लसीक्यापसम्मको २५ किलोमिटर सडकमा सूर्य–श्रेया–शान्तिदेवी जेभीले तीन वर्षदेखि काम गरिरहेको छ । ठेकेदार कम्पनीलाई २०८२ पुस १६ सम्मको समय दिइए पनि अहिलेसम्म १५ प्रतिशत मात्र काम गरेको छ ।
उनले म्याद सकिन एक वर्ष मात्र बाँकी रहँदा कम्पनीले अहिलेसम्म ४ किमि मात्र ट्¥याक खोलेको बताए । उक्त ठेक्का पनि सडक डिभिजन कार्यालय चौरजहारीमार्फत खोलिएको र त्यसयता नयाँ ट्¥याक खोल्न बजेट नआएको उनले जानकारी दिए । त्यसभन्दा माथि लसिक्यापदेखि सिसौलसम्मको ३५ किमि सडकमा भने अझै ट्¥याक खुलेको छैन् ।
उक्त खण्डमा कडा चट्टान र भीर भएकाले नेपाली सेनालाई जिम्मा दिने तयारी भइरहेको रञ्जितकारले बताए । सेनालाई जिम्मा दिनेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी छ । सडक निर्माणका लागि सेनाले पनि प्रारम्भिक स्थलगत अध्ययन गरिसकेको छ ।
सेनाले प्रारम्भिक अध्ययनका आधारमा पेस गरेको फाइल रक्षा मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गइसकेकाले अब मन्त्रिपरिषद्बाट निर्णय भएपछि सेनाले काम थाल्ने उनले जनाए । उनका अनुसार विस्तृत वातावरणीय प्रभाव मूल्यांकन पनि सकिएकाले अब धमाधम निर्माण कार्य सुरु हुन्छ । हाल मरिम्ला–तिन्जे—धो हुँदै सिसौलसम्मको ४० किमि सडकमा भने भेरी करिडोरले ट्¥याक खोलिसकेको छ ।


