भारु १२ करोडको सुन–चाँदी र नगद चोरी गरेर भाग्दै गरेका तीन नेपाली पक्राउ


नयाँ दिल्ली । करोडौं रुपैयाँका सुन–चाँदी र नगद चोरी गरेर नेपाल भाग्दै गरेका नेपाली मूलका तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
भारतको तेलंगाना राज्यमा एक सम्पन्न परिवारको घरबाट करिब १२ करोड भारतीय रुपैयाँ बराबरको सुन–चाँदी र नगद रकम चोरी गरी भाग्दै गरेका उनीहरुलाई उत्तर प्रदेशको रामपुर जिल्लाबाट प्रहरीले नियमित चेकजाँचका दौरान पक्राउ गरेको हो । भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा कमल, उनकी पत्नी विमला र सालि कल्पना रहेका छन् ।
उनीहरुको साथबाट ७ किलो सुन, १ किलो चाँदी र करिब २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरिएको प्रहरीको भनाइ छ । तेलंगानाको साइबराबाद कमिश्नरेटअन्तर्गत गाचीबाउली क्षेत्रको एक सम्पन्न परिवारको घरमा काम गर्ने उनीहरुले घरधनी परिवारसहित बाहिर गएको मौका छोपेर गरगहना र नगदसहित चोरी गरेर फरार भएका थिए ।
तर, घरधनीले आफ्नै घरमा काम गर्ने नौकर–नौकरानीले ठूलो मात्रामा सुन–चाँदी र नगदसहित चोरी गरेर फरार भएको उजुरी प्रहरीमा दर्ता गरेपछि तेलंगाना र उत्तर प्रदेश प्रहरीको संयुक्त अप्रेशनले उनीहरु पक्राउ परेका हुन् । तेलंगाना प्रहरीले उनीहरुको मोबाइल लोकेसन, यात्रा र सम्पर्कहरुको निगरानी सुरु गरेपछि उनीहरु दक्षिण भारतबाट उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गर्ने योजनामा रहेको तथ्य खुलेको थियो ।
उत्तर प्रदेश प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएपछि रामपुरको बिलासपुर क्षेत्रमा नियमित सवारी जाँच भइरहेको बेला प्रहरीले उनीहरुको झोलाबाट सुनका गरगहना, सिक्री, बाला, हीराझैं देखिने सेट तथा चाँदीका सामग्री बरामद गरेको हो । गहना विभिन्न कपडा र ब्यागभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको भारतीय प्रहरीले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार आरोपीहरुले लामो समयदेखि घरको सुरक्षा प्रणाली, गहना राख्ने स्थान र परिवारको दिनचर्या राम्रोसँग अध्ययन गरेका थिए । घरधनी बाहिर गएको मौका छोपेर उनीहरुले योजनाबद्धरुपमा गरगहना र नगद चोरी गरेका थिए । अहिले तेलंगाना र उत्तर प्रदेश प्रहरी संयुक्त रुपमा थप अनुसन्धानमा जुटेका छन् ।
चोरीमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशंकापछि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । आरोपीहरु नेपाल पुगेपछि गहना बेचेर लुक्ने योजना बनाइरहेका थिए । तर सीमा पुग्नुअघि नै उनीहरुको योजना असफल बनेको हो ।
यो घटनाले भारतमा रहेका घरेलु कामदारमाथिको विश्वास, सुरक्षा व्यवस्थापन र अन्तरराज्यीय अपराध नियन्त्रणबारे गम्भीर प्रश्न खडा गरेको छ । नेपाली मुलका समुदायबाट यस्ता चोरिका घटना हुनु ईमानदार कामदारहरुका लागि दुःखद खबर बनेको प्रवासी नेपालीले बताएका छन् ।
यता रामपुरका प्रहरी प्रमुख सोमेंद्र मीणाका अनुसार, अन्य सम्भावित संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी छ । साथै, उनीहरुको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन नेपाल प्रहरीसँग पनि समन्वय गरिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छन् ।
उनीहरुको थर र नेपालको ठेगाना भन्ने खुलाईएको छैन् ।

