२०८३ भदौ ९ , मंगलबार
Sky News Nepal
August 25, 2026

जंगली विषालु च्याँउ सम्बन्धी सचेतना फैलाउँदै विजौरा प्रहरी



गुटु सम्वाददाता ।  सुर्खेतको विजौरा प्रहरीले जंगली विषालु च्याउ बारे सचेतना  फैलाउन लागेको छ ।

वर्षायाम लागेसँगै जंगली बिषालु च्याँउको सेवनबाट शरीरमा प्रतिकुलता आउनुका साथै ज्यानै समेत जाने गरेका घटनाहरु बढ्न थालेपछि प्रहरीले  सर्वसाधारण माँझ सचेतना फैलाउन लागेको हो ।

शान्ति सुरक्षासँगै कानून कार्यान्वयनमा जुटेको विजौरा प्रहरीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जंगली विषालु च्याउको सेवनबाट हुन सक्ने सम्भावित खतराका बारे सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । पछिल्लो समय विजौरा प्रहरीले वर्षायाममा  हुन सक्ने सम्भावित पानीजन्य रोगबाट समेत बच्न आग्रह गरेको छ ।

बिजौरा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक धरमसिंह धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले चौकुने गाँउपालिका–४ नम्वर वडाका स्थानीय बासिन्दासँगै व्यापारी तथा युवाहरुलाई जंगली बिषालु च्याँउ सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले जानकारी दिए ।

उनले जिल्ला व्यापी सबै प्रहरी युनिटहरुबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान २०८१ अन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भईरहेको बताए ।

बिषालु च्याउ काे असर

कुनै पनि बिषालु च्याउले मानिसहरूकाे सम्पर्क वा उपभाेगकाे क्रममा बिषालु च्याउकाे जात र असर अनुसार मानविय स्वास्थ्यमा असर गर्ने गर्दछ ।

क) कुनै बिषालु च्याउले मानिसकाे स्नायुमा असर गर्ने हुन्छ जसकाे कारण आलस्य बनाउने, गल्ने, जिब्रो सुनिने हुन्छ ।

ख) कुनै बिषालु च्याउकाे सेवनबाट दिमागमा असर पुर्याउँछ । जसकाे कारण मानिसलाई रिंगटा लाग्ने, बेहाेस हुने, काेमामा जाने आदि समस्या हुने गर्दछ ।

ग) कुनै च्याउ खाँदा मानिसहरूलाई नशा लाग्ने, लठ्याउने गर्दछ ।

घ) त्यस्तै कुनै बिषालु च्याउबाट मानिसको पाचनक्रियामा असर गरि बान्ता गराउने, पेट दुख्ने, पेट र आन्द्रामा घाउ बनाउने पिसाब धेरै गराउने गर्दछ ।

ङ) कुनै बिषालु च्याउबाट श्वास प्रश्वास क्रियामा असर गरि फाेक्साे, मुटुमा असर गर्ने, रक्त विकृत गर्ने, श्वास नली बन्द गर्ने हुन्छ ।

च) कुनै बिषालु च्याउकाे सेवनबाट हाड नशामा असर गरि शरीर कमजाेर बनाउने गर्दछ ।

छ) बिषालु च्याउले मानिसकाे शरीरमा विभिन्न किसिमका असर गर्ने भएकाले गम्भीर प्रकृतिका बिरामी पार्ने र मृत्यु समेत गराउने धेरै सम्भावना हुन्छ ।

बिषालु च्याउकाे सेवन गरेमा निम्न अनुसारका लक्षणहरू देखिन्छ ।

१) छाती वा पेट भारि हुने ।

२) पेट भारी भइ आलसतालस हुने ।

३) वान्ता आउला जस्तो हुने ।

४) पेट दुख्ने ।

५) मुटुकाे घड्कन गडबडी हुने ।

६) शारीरिक तापक्रम घट्दै जाने ।

७) रिङ्गटा लाग्ने, झुम्म हुने, र्याल चुहिने, नाकबाट सिंगान बग्ने ।

माथि उल्लेखित लक्षणहरू देखिएमा तुरुन्तै नजिकैको अस्पतालमा जाने । अस्पताल पुग्न भन्दा अगाडि निम्न अनुसारका प्राथमिक उपचार गर्ने गराउने ।

१) पाँच छ गिलास मनतातो पानी खुवाउने र दुई औंला मुख भित्र हाली खाएका कुरा सबै निस्कने गरि वान्ता गराउने ।

२) काेइलाकाे (medicated charcoal) मसिनाे धुलाेलाई  पानीसँग मिसाई खुवाउने जसले गर्दा शरिरमा फिजिएको बिषादी साेसेर असर कम गराउँछ ।

३) सकेसम्म धेरै वान्ता गराउने ।

४) कागतीलाई मन तातो पानीमा निचाेरेर खुवाउने ।

५) बिषालु च्याउ खाएकाे व्यक्तिलाई दिसा लाग्ने औषधि खुवाउने । अरु केहि औषधि नखुवाउने ।

६) अधिकतम दिसा भएमा जीवनजल खुवाउने ।

माथि उल्लेखित प्राथमिक उपचार बिषालु च्याउकाे असर कम गराइ मानिसकाे ज्यान बचाउने प्रयासमात्र हुन् जुन अस्पताल पुग्नु भन्दा पहिले गरिने कार्य हुन् । बिषालु च्याउकाे सेवन गर्दा कुनै शारीरिक समस्या भएकाे कुनै लक्षण देखिनासाथ नजकैकाे अस्पताल पुर्याउननु नै सबैभन्दा महत्वपूर्ण कुरा हाे ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार
Translate »